विराजको ‘साङ्लो’ फर्स्टलुक सार्वजनिक संगै प्रदर्शनी मिति घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्सन स्टार विराज भट्टको डेब्यू निर्देशकिय चलचित्र ‘साङ्लो’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । एक्सन लुकमा प्रस्तुत सार्वजनिक पोष्टरमा अभिनेता भट्टलाई मात्रै फिचर्ड गरिएको छ । पोस्टरसँगै चलचित्रको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यसअघि कात्तिक १५ मा आउने निश्चित भएको चलचित्र अब महाशिवरात्रीको दिन अर्थात् फागुन ९ गते प्रदर्शनमा आउने भएको छ । ‘साङ्लो’ लाई विराज स्वयंले निर्माण गरेका हुन् ।

यही चलचित्रबाट एक्सन स्टार विराज भट्ट निर्माण तथा निर्देशनमा होमिएका हुन् । ‘साङ्लो’ ले आफ्नो पुरानो स्टारडम फिर्ता गर्नेमा उनी विश्वस्त छन् । लामो समयदेखि काँचको पर्दाबाट टाढा रहेका कारण उनको एक्सनको भोका प्रशंसकमाझचलचित्रको व्यग्र प्रतिक्षा छ ।

चलचित्रमा विराजको जोडी पूर्व मिस नेपाल निकिता चाण्डकसँग बाँधिएको छ । चलचित्रमा प्रकाश शाह नेगेटिभ रोलमा छन् । श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन रहेको चलचित्रमा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको छ। चलचित्रको कथा शिवम् अधिकारीले लेखेका हुन् ।