‘अल्लारे २’ घोषणा, राजेश र करिश्मा देखिने छन् कि छैनन् ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: निर्देशक अशोक शर्माले आगामी वर्षको दशैँमा ‘अल्लारे २’ दर्शक माँझ ल्याउने भएका छन् । उनको कमब्याक पछिको दोस्रो चलचित्र ‘रातो टिका निधारमा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । ‘रातो टिका निधारमा’को अन्त्यमा निर्देशक शर्माले ‘अल्लारे २’को घोषणा गरेका छन् । ‘मितिनी’ रिलिजको १२ वर्ष पछि निर्देशनमा फर्किएका शर्माले गत वर्षको दशैँमा ‘जय भोले’ रिलिज गरेका थिए । बक्सअफिसमा सफल चलचित्रको अन्त्यमा ‘रातो टिका निधारमा’ घोषणा गरिएको थियो ।

सन् १९९७ मा रिलिज भएको ‘अल्लारे’मा राजेश हमाल र करिश्मा मानन्धरको मुख्य भूमिका थियो । सुपरहिट चलचित्रको गीतलाई सापटी लिएर यो दशैँमा ‘रातो टिका निधारमा’ रिलिज गरिएको छ । ‘अल्लारे २’ मा को को कलाकार रहने र चलचित्र कस्तो बन्ने भन्ने बारेमा अहिले खुलाइएको छैन । अल्लारे मा संगै काम गरेका राजेश हमाल र करिश्मा मानन्धर ‘अल्लारे २’मा देखिने छन् या छैनन् त्यो त समयले नै बताउनेछ ।

‘अल्लारे’मा शम्भुजित बाँस्कोटाको कथा र संगीत, स्वर्गीय शिव रेग्मीको पटकथा र अशोक शर्माको निर्देशन थियो । सिनेमामा अशोक शर्मा, निर शाह, सुभद्रा अधिकारी, नारायण त्रिपाठी, श्रीषा कार्की पनि अभिनय गरेका थिए ।