‘पोइ पर्‍यो काले’ कसको पुजाको कि श्रृष्टिको ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: कात्तिक ८ गतेबाट चलचित्र ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आउँदैछ । स्टारकास्टका कारण लामो समयदेखि चर्चामा रहेको यो चलचित्रमा पहिलो पटक अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले स्क्रिन साझेदारी गरेका छन् । यसकारण पनि दर्शकलाई यो चलचित्रको व्यग्र प्रतिक्षा छ । चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठको पनि प्रमुख भूमिका छ ।

शिशिर राणाको लेखन र निर्देशन रहेको चलचित्रको केही दिन अगाडि शिर्ष गीत सार्वजनिक भएको थियो । जसलाई अहिलेसम्म युट्युबमा ११ लाखभन्दा बढि पटक हेरिएको छ । गीतलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ । कालो वर्णको एक पुरुषको जीवनमा आउने उचार-चढावमा चलचित्र केन्द्रित रहेको बताइएको छ । चलचित्रको मूल कथा अभिनेता सौगात मल्लको वरिपरि घुमेको छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको प्रचार-प्रसारलाई आक्रामक बनाउन थालिएको छ । केही दिनयता निर्माण टिमले फिल्मको लगातार नयाँ-नयाँ पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । हालै सार्वजनिक चलचित्रको दुई पोस्टरले दर्शकलाई कन्फ्यूज बनाएको छ । एक पोस्टरमा सौगात, पूजा, आकाश र श्रृष्टि सबैलाई दुलहा-दुलहीको भेषमा देख्न सकिन्छ ।

अर्को पोस्टरमा सौगातले श्रृष्टि र आकाशले पूजाको हात समातेका छन् । यी दुई पोस्टरले चलचित्रमा कसको जोडी को ? भन्ने कन्फ्यूज बनाउँछ । यसअघि सार्वजनिक गीतमा सौगातको जोडी पूजा र आकाशको जोडी श्रृष्टिसँग बाँधिएको थियो । तर, पोस्टरले अर्कै संकेत गर्छ । यस विषयमा निर्माण टिम मौन छ । यसको जवाफ पाउनका लागि हलसम्म पुग्नु पर्ने निर्देशक राणा बताउँछन् ।

तिहारमा प्रदर्शन हुन लागेको चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । अहिलेका चल्तीका कलाकारहरुको अभिनय रहेका कारण चलचित्रको इनिसियल बक्सअफिस आक्रामक हुने देखिन्छ । चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् ।