क्यानडामा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: क्यानडाको टोरन्टोमा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ को घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजकले आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरेको हो । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।

कार्यक्रममा बोल्दै हिल्सा इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक प्रतिक बुढाथोकीले पर्यटन बर्ष २०२० लाई लक्षित गरेर क्यानडामा अवार्ड आयोजना गर्न लागेको बताए । विश्वब्यापीकरणको बाटोमा रहेको नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा अवार्डले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै प्रतिकले नेपाली पहिचानलाई विश्वस्तरमा चिनाउने आफुहरुको उद्देश्य रहेको बताए ।

कार्यक्रममा अवार्ड कार्यक्रमलाई शुभकामना प्रदान गर्न चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बोर्ड पुर्व अध्यक्ष तथा बरिष्ठ कलाकार कृष्ण मल्ल, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, अभिनेता सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधान लगायत उपस्थित थिए ।

पर्यटन बर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवर्धनमा ठुलो भुमिका खेल्ने र सरकारले पर्यटन बर्ष मनाइरँदा विदेशी भुमिका आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियानमा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ । दैनिक १ लाख बढि पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता पनि आयोजकले गरेको छ ।

ड्रिम हाइ नेपाल प्रा.लि. को इभेन्ट ब्यवस्थापन र नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ मा १२ प्रतिस्पर्धी विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ ।

जनवरी ३१ तारिखमा हुने अवार्ड आयोजना पुर्व २०७५ सालभर प्रदर्शनमा आएका फिल्महरुबाट उत्कृष्ट तीनको मनोनयन सार्वजनिक हुनेछ भने सबैविधाका उत्कृष्ट तीन प्रतिस्पर्धिलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य आयोजकको छ । मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी सम्मिलित निर्णायक टिमको मुल्याङ्कनको आधारमा सम्बन्धित विधामा उत्कृष्ट मनोनयन चयन हुनेछन् ।

प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन् । हरेक बर्ष आयोजना गर्ने लक्ष्य सहित घोषणा भएको अवार्डले अझै पनि नेपाली चलचित्रको उपस्थिति प्रभावकारी बन्न नसकेको क्यानडामा कलाकारहरुको उपस्थितिमा नेपाली चलचित्र र कला संस्कृतिको पहिचान पुर्‍याउनमा मद्धत पुग्ने विश्वास आयोजकको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.