‘कबड्डी कबड्डी कबड्डी’ले रेकर्ड बनायो,दुई दिनमा ३ करोड २५ लाखको ब्यापार


सेलिब्रेटी नेपाल

काठमाडौँ:शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले सुस्ताएको नेपाली बक्सअफिस चलायमान बनाएको छ । दोस्रो दिनमा पनि चलचित्रप्रति दर्शकको क्रेज देखिएको छ । शनिबारको विदामा विहानैदेखि शोज हाउसफुल देखिएका थिए । पहिलो दिन १ करोड ४७ लाख व्यापार गरेको चलचित्रले दोश्रो दिन १.७८ करोडको ब्यापार गरेको छ ।

शनिबार राजधानीबाट ९२ लाख कलेक्सन गरेको ‘कबड्डी ३’ले मोफसलमा ८६ लाख व्यापार गरेको वितरक कम्पनि ‘स्टेशन ५’ले जानकारी दिएको छ । यस्तै पहिलो दिनको कलेक्सन १.४७ करोडमा राजधानीबाट ८० र मोफसलबाट ६७ लाख योगदान रहेको छ ।

दुई दिनमा चलचित्रको टोटल ग्रस ३ करोड २५ लाख पुगेको छ । पहिलो दुई दिनमा पनि यो कलेक्सन नेपाली चलचित्रको लागि सर्वाधिक हो । शुक्रबारको व्यापार र बलियो वर्ड अफ माउथलाई मध्येनजर गर्दै शनिबार देशैभर चलचित्रको लागि हल र शोज थपिएको थियो । शनिबारको बम्पर व्यापारले गर्दा चलचित्रले नेपाली बक्सअफिसमा नयाँ रेकर्ड राख्न सफल भएको हो ।

रामबाबु गुरुङ निर्देशित चलचित्रको प्रतिक्रिया बुझ्न शनिबार हल छिरेको निर्माण पक्षलाई दर्शकले मिठो स्वागत गरेका थिए । शनिबार नै जन्मदिन परेकी अभिनेत्री उपासना सिंह ठकुरीले दर्शकको बीचमा केक काटेर सेलेब्रेसन गरेकी थिइन् ।