‘छ माया छपक्कै’ को पहिलो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ज्योतिषले दिएको समय अनुसार शुक्रबार बिहान ८ बजे यूट्युबमा सार्वजनिक गरिएको ‘जुनको जुनेली’ बोलको लोक शैलीको गीतमा चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् । गीतमा बसन्त थापा र मिना निरौलाको स्वर छ ।

राजेन्द्र थापाको शब्द रहेको गीतमा गायक बसन्तकै संगीत छ । गीतमा दीपकराज र केकीबीच अंकुराउँदै गरेको प्रेमलाई उनिएको छ । साथमा, जितु र सुपुष्पाको प्रेम भाव पनि गीतले बोल्छ । गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । दीपेन्द्र लामा निर्देशित यो चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुद्धि तामाङ र रजनी गुरुङको पनि अभिनय रहेको चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रमा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको छ ।

आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस चलचित्रका निर्माता रोहित अधिकारी हुन् । पहिलो पटक दीपक-दीपाको समुहले बाहिरी ब्यानरसँग सहकार्य गरेर ‘छ माया छपक्कै’ बनाएको हो । नाफाको ५० प्रतिशत लिने शर्तमा उनीहरुले यो चलचित्र गरेका हुन् ।