रवि लामिछानेसहित तिनै जना धरौटीमा रिहा


सेलिब्रेटी नेपाल

काठमाडौँ:पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्।

लामिछानेलाई पाँच लाख, युवाराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ भने अर्का अभियोगी रुकु भन्ने अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिए। पुडासैनी आत्महत्या प्रकरणमा तीन जना विरुद्ध आइतबार चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो। आइतबार मुद्धा दर्ता भएपछि भने एक अभियोगी अस्मिता कार्कीको मात्र बयान लिने काम सकिएको थियो। सोमबार कार्यालय समय सुरु भएपछि लामिछाने र कँडेलको बयान लिइएको थियो।

थुनछेक बहसमा वादीकोतर्फबाट जिल्ला न्यायधिवक्ता यदुनाथ शर्मा, सहायक न्यायधिवक्ताहरु प्रकाश थापा, सानुबाबु श्रेष्ठ, चितवन बारका निवर्तमान अध्यक्ष गोपिलाल देवकोटा, पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ, स्वागत नेपालले बहस गरेका थिए। बहसमा आरोपितलाई पाँच वर्ष कैद र पचास हजार रुपैयाँ जरिवानाको माग दाबी गरिएको थियो। लामिछाने र कँडेलको तर्फबाट सुशिल पन्त, चुडामणी सापकोटा, सुनिल पोखरेल, राजु थापा, अस्मिता कार्कीको तर्फबाट छायाँ चन्द, फुलमाया रानाभाट, रामगोपाल श्रेष्ठ, कल्पना उप्रेती लगायतले बहस गरेका थिए।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.