निखिल,दिपक रमेशले के भने रबिको बिषयमा (भिडियो)


सेलिब्रेटी नेपाल

चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । कार्यक्रमको सुरुवातमै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा रहेको सुनाए ।

धमलाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनको लागि यसको पक्षमा सबैभन्दा बढि बहस गराउने थलो पनि रिपोर्टर्स क्लब भएको सुनाउँदै उनले भने,‘क्लब परिवर्तनको पक्षमा थियो र छ, यसको लागि पक्षमा बहस गर्ने फोरम पनि यही क्लब बनेको थियो । हामी विधिको शासनमा विश्वास गर्छौं । अहिले रविजीलाई भेट्न ऋषि धमला किन चितवन गएन ? भनेरपनि बहस भएको छ, म चितवन जान तयार छु ।’

धमलाले निर्दोषले सजाय पाउन नहुने र दोषी उम्कन नहुने धारणा राखे । उनले भने,‘यदि यो प्रकरणमा रविजी निर्दोष हुनुहुन्छ भने उहाँले न्याय पाउनुपर्छ, तर गलत काम गरेको छ भने दण्डितपनि हुनुुपर्छ । म व्यवसायिक पत्रकार हो । निर्दोषले न्याय पाउने हो । दोषी दण्डित हुनुपर्छ ।’ उनले पत्रकार शालिकराम पुडासैनीको परिवारले पनि न्याय पाउनुपर्ने बताए ।

हाँस्यकलाकार, अभिनेता तथा निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गरे । उनले भने,‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो मुहार पुस्तिकामा पनि लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानूनको ढोका ढकढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’
उनले रवि लामिछानेको लागि यति धेरै समर्थन रहेको पनि सुनाए । उनले भने,‘उहाँको पक्षमा ठूलो समर्थन छ । चासो छ । अहिले हामीले कानून संशोधन गरेका छौं । म त कानूनमै दोष देख्छु । आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन् । कानून सुधार गर्नुपर्छ । यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन् ।’

अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डा मुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने सुनाए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको सुनाए । उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए । उनले भने,‘उहाँलाई भयंकर अपराधीजस्तै गरेर पक्राउ गरियो । उहाँले त सुरुवातदेखि नै प्रहरी प्रशासनलाई सहयोग गर्छु भन्नुभएको थियो । तर, जे होस अब अन्तिम निर्णय अदालतको हो । रविजी भनेको आवाजविहीनको आवाज हो । उहाँले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस् ।’

कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वस दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने,‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ ।’