भदौ २८ बाट ‘हिमालय रोडिज’ तेस्रो सिजनको अडिसन


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको हिमालय रोडिजको तेस्रो सिजन सुरु हुने भएको छ । शुक्रबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो सिजनको बारेमा जानकारी दिइएको हो । एड्भेन्चर रियालिटी शो हिमालय रोडिजले यस अघि दुई सिजन सफलता पूर्वक समापन गरिसकेको छ ।

सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने निर्देशक अमनप्रताप अधिकारीले बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘पहिलो र दोस्रो सिजनले हामीलाई धेरै सिकाएको छ । अब भने हामीले सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौँ । प्रतिष्पर्धीमात्र नभएर ग्याङ लिडर पनि चूतौतीपूर्ण रुपमा खेलमा सहभागी हुनेछन् ।’

पहिलो र दोस्रो सिजनमा तीन जना जज थिए । तर, यस सिजनमा भने चार जना टिम लिडर रहेका छन् । पहिलो र दोस्रो सिजनमा जज बनेका रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बन्नेछन् । ग्याङ लिडरमा भने दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दीया मास्के रहेका छन् । ग्याङ लिडरमा पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही थपिएका छन् ।

यस वर्षको लागि ५ शहरमा अडिसन गर्ने बताइएको छ । भदौ २८ गते धरानबाट अडिसन सुरु हुनेछ । भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौंमा अडिसन हुनेछ ।