शुभद्रा अधिकारीको पशुपति आर्यघाटमा दाहासंस्कार


सेलिब्रेटी नेपाल

काठमाडौँ: वरिष्ठ कलाकार शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । सुभद्रा अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रका केही कलाकार पशुपति आर्यघाट पुगेका थिए । साथै, पर्यटन मन्त्री योगेश भट्टराई पनि पशुपति आर्यघाट पुगे । उनले नेपाली कला क्षेत्रमा सुभद्रा अधिकारीको योगदान अतुलनिय रहेको बताए ।

वि.स. २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् । सुभद्रालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, रेखा थापा लगायत पशुपति आर्यघाट पुगेका थिए । यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र कलाकार संघको कार्यसमिती टिम पनि पशुपति आर्यघाट पुगेको थियो ।

सुभद्राले अभिनय गरेका दर्जनौ चलचित्र सफल छन् । चलचित्र ‘भाउजु’मा काम गरेपछि उनलाई चलचित्र क्षेत्रकी भाउजु भनेर समेत चिनिएको थियो । उनले अभिनय गरेका ‘काठमाण्डु, मसान, शासन, बाटो मुनिको फुल, किस्मत, दोस्ती, मनको बाँध, बासुदेव, माया प्रिती, बेहुली, पिरती, कन्यादान, चिनो, कस्तुरी, सपना, भाउजु, स्वर्ग, कर्जा’ लगायतका थुप्रै चलचित्र सफल छन् ।