२४ लाख पुरष्कार सहित हिरो नेपालको घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौं: ‘हिरो नेपाल’ प्रतियोगिताको आयोजना हुने भएको छ। एक्टिभ प्रोडक्सन एण्ड मिडिया प्रालिको आयोजनामा लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले उक्त कुरा जानकारी गराएकी हुन् ।

प्रतियोगितामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले भाग लिन पाउने उनको भनाइ छ । उनका अनुसार ‘हिरो नेपाल लुकेका प्रतिभाहरुलाई उजागर गर्ने एकमात्र टेलिभिजन कार्यक्रम हो । कार्यक्रममा जुनसुकै उमेर समूहका क्षमतावान् र प्रतिभाशाली व्यक्तिहरुले भाग लिन पाउने बताइएको छ ।

हिरो नेपालमा विभिन्न जातजातिले आफ्नो कला तथा संस्कृतिलाई प्रवर्द्धन गर्न सक्ने र नयाँ पिँढीले पनि सिक्ने माध्यमका रुपमा यो मञ्चलाई प्रयोग गर्न सक्ने आयोजकको भनाइ छ । १२ जना निर्णायक रहने कार्यक्रममा एकल, जोडी तथा समूह आएर भाग लिन सक्ने बताइएको छ। कार्यक्रममा भोटिङ र जजिङ दुुवैको आधारमा विजेता घोषणा गरिने जानकारी दिइयो ।

दुवै आधारमा प्रथम हुनेलाई रु १० लाख, द्वितीय हुनेलाई ८ लाख र तृतीय हुनेलाई ६ लाख पुरस्कार प्रदान गरिने बताइएको छ । त्यस्तै, टप टेनमा पर्नेहरुले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । राष्ट्रको गौरव र शानका रुपमा आयोजना हुने उक्त कार्यक्रमको टेलिभिजन तथा युट्युबको माध्यमबाट विश्वमै उजागर गरिने बताइएको छ ।

३ महिनाको यो इभेन्ट प्रोग्रामको प्रोमोशनल शुटिङ भैसको र केही दिनपछि अडिसन शुरु गरिने आयोजकले जानकारी गराए । अडिसनमा भाग लिन चाहनेहरुले आयोजकको आधिकारिक वेबसाइट (www.heronepal.com) लगइन गरेर अप्लाई गर्न सक्नेछन् । साथै, हिरो नेपालको एप डाउनलोड गरेर समेत कार्यक्रममा भाग लिन चाहानेहरुले रजिष्ट्रिेसन गर्न सक्ने आयोजकले जानकारी गराए ।