चितवनमा ‘साइनो’ को विशेष शो,दर्शकले मन पराए चलचित्र


सेलिब्रेटी नेपाल

काठमाडौँ: यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साइनो’ लाई चितवनका दर्शकले मन पराएका छन् । लक्की मिडिया हाउसले चितवनमा आयोजना गरेको विशेष शोमा दर्शकले ‘साइनो’ रुचाएका हुन् । उनीहरुले ‘साइनो’ लाई मौलिक कथावस्तुको अर्गानिक चलचित्रको संज्ञा दिए ।

कार्यक्रममा वरिष्ठ कलाकार तथा चलचित्रकर्मी निर शाहको प्रमुख आतिथ्यतामा वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, चलचित्रकी निर्मात्री तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुषाल, प्रथम रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो ।

विशेष शो मा चलचित्र साइनोका मुख्य कलाकारहरु नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल लगायतका अन्य कलाकारहरु, निर्माता निर्देशकको पनि उपस्थिती थियो । चलचित्र ‘साइनो’ हेरेपछि वरिष्ठ चलचित्रकर्मी निर शाहले चलचित्र शुद्ध नेपालीपनको चलचित्र बनेको प्रतिक्रिया दिए । उनले यस चलचित्रबाट सम्भावना बोकेको निर्देशक र नवनायक भित्रिएको बताए । वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले धेरैपछि मौलिक कथावस्तुको मुलधारको नेपाली फिल्म हेरेको बताए । विशेष शोमा उपस्थित कलाकार तथा चितवनमा विशिष्ट व्यक्तिहरुले चलचित्र साइनो राम्रो बनेको बताउँदै सफलताको कामना गरे ।

चलचित्र साइनो यहि साउन २४ गतेबाट प्रदर्शन हुँदैछ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।

चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । मोफसलका विभिन्न स्थानमा अहिले साइनो चलचित्रले प्रचारप्रसार तिव्र बनाएको छ । मुलधारका नेपाली चलचित्र बन्न नसकेको बेला प्रदर्शनमा आउन लागेको यो चलचित्रले चितवनमा राम्रो प्रतिक्रिया पाएपछि टोली थप हौसलाको साथ काठमाडौँ फर्केको छ ।