‘मिस्टर वर्ल्ड २०१९’ नेपालबाट अक्षय फिलिपिन्समा प्रतिनिधित्व गर्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ: फिलिपिन्सको मनिलामा यही अगष्ट २३ मा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०१९’मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन् । ‘मिस्टर नेपाल २०१७’का बिजेता रायमाझी नेपाली कलासंस्कृति सहित उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन् । मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर अक्षयको ‘मिस्टर वर्ल्ड २०१९’सहभागीता बारे जानकारी गराएको हो । बिश्वका एकसय भन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा अक्षय नेपालका एक्लो सहभागी हुन् । नेपाली कलासंस्कृतिले भरिएको नाँच प्रस्तुत गर्दै भिजिट नेपाल २०२०को सन्देश समेत बिश्वमा प्रवाह गर्ने कार्यक्रममा अक्षयले बताए ।

‘मैले नेपाल र नेपालको बिषेशता झल्कने एक भिडियो समेत तयार गरेको छु । जुन ‘मिस्टर वर्ल्ड’को मन्चमा प्रस्तुत हुनेछ’अक्षयले भने ‘भिडियोमा आफ्नो समाजसेवा, अन्य काम देखि नेपाल चिनाउने सगरमाथा, गौतमबुद्ध लगायतका बिषयबस्तु अटाएको छ ।’आफुले बनाएको भिडियोले बिश्वका सहभागीलाई नेपालबारे बुझ्न सजिलो हुने उनले कार्यक्रममा खुलाए ।

अक्षय ‘मिस्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने दोस्रो ब्यक्ति हुन् । यस अगाडि मिस्टर वर्ल्ड २०१६ मा गणेश अग्रवालले सहभागीता जनाएका थिए । कार्यक्रममा एक्सपोज नेपालकी अर्चना थापाले नयाँ ‘मिष्टर नेपाल २०१९’को आवेदन समेत खुल्ला भएको जानकारी दिइन् । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले एक्सपोज नेपालले सन् २००१बाट नियमित आयोजना गर्दै आएको यो प्रतियोगितामा सहभागीताका लागि १६ देखि ३५ बर्ष ननाघेका युवाहरुले आवेदन दिन सक्नेछन् ।

थापाका अनुसार काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरान, इटहरी लगायत देशका प्रमुख शहरमा समेत प्रतियोगीताको छनौट चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा अनलाईन बाट पनि भर्न सकिनेछ ।