सरोज खनालले नियोजित रुपमा शौचालयमा फोटो सेसन गरएका हुन्: बोर्ड


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र विकास बोर्डले यही २०७६ असार २७ गते शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा अभिनेता सरोज खनालको फोटो र फेसबुक प्रतिक्रिया बारे चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सभा हलमा कार्यक्रम प्रस्तुत गर्ने क्रममा त्यहाँ रहेको शौचालयमा बसेर व्यङ्ग्यात्मक शैलीमा फोटोसेशन गरेर सामाजिक सञ्जालमा पोष्ट गरी लेखेको स्टाटस र त्यसपछि विभिन्न सञ्चार माध्यममा आएको समाचार बारे बोर्डले प्रेस बिज्ञप्ति मार्फत खण्डन गरेको छ ।

चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अभिनेता सरोज खनालले राष्ट्रपति भवनको सभा हलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ । शौचालयमै बस्नु पर्ने गरी कुनैपनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनैपनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ ।’

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ को सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयले कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराएका कारण त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जारी विज्ञप्तीमा उल्लेख छ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभा हलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाएको स्पष्ट पार्दै बोर्डले सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी-कमजोरी भए क्षमा माग्ने पनि बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.