तिन बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकै पटक वितरण


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा मिति २०७६ साल आषाढ २७ गते शुक्रबारका दिन राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यता तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विशिष्ट आतिथ्यतामा चलचित्रकर्मीहरुलाई वि.सं. २०७३,२०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत गरिएको छ ।

सो अवसरमा माननीय मन्त्री गोकुल बाँस्कोटाबाट कार्यक्रमलाई स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सम्माननीय राष्ट्रपतिले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रबर्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको कुरा आफ्नो मन्तव्य राख्नु भयो ।

राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा २०७५ सालमा रिलिज भएका चलचित्रहरु मध्ये विभिन्न ११ विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको थियो ।

जसमा, उत्कृष्ट चलचित्रको पुरस्कार ‘गोपी’ले जित्न सफल भयो । यस्तै, ‘उत्कृष्ट निर्देशक’तर्फ ‘बुलबुल’बाट बिनोद पौडेलले पुरस्कार प्राप्त गर्दा ‘उत्कृष्ट अभिनेता’को पुरस्कार विपिन कार्कीले चलचित्र ‘प्रसाद’बाट प्राप्त गरे । विपिनले सोही कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०७३’का लागि ‘उत्कृष्ट अभिनेता’को पुरस्कार पनि प्राप्त गरेका थिए ।

यस्तै, ‘उत्कृष्ट अभिनेत्री’तर्फ स्वस्तिमा खड्काले चलचित्र ‘बुलबुल’बाट पुरस्कार प्राप्त गरिन् । उत्कृष्ट सम्पादनको विधामा चलचित्र ‘साँइली’का लागि निमेष श्रेष्ठले पुरस्कार प्राप्त गर्दा उत्कृष्ट छायांकनतर्फ भने ‘समर लभ’बाट संजय लामाले राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् ।

उत्कृष्ट लेखन विधामा कथातर्फ दिपेन्द्र लामा चलचित्र ‘गोपी’बाट पुरस्कार जित्दा यही चलचित्रबाट पटकथा तथा संवाद विधामा सामिप्यराज तिमिल्सिनाले पुरस्कार जिते । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्नु भएको थियो ।

यस्तै, जुरी प्रोत्साहन सम्मानबाट चलचित्र ‘भोर’बाट कलाकार पूजा कर्णलाई पुरस्कार प्रदान गरियो । ‘चलचित्रको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान’ गतबर्षको सर्वाधिक कमाई गर्ने चलचित्र ‘छक्का पन्जा ३’को निर्माण ब्यानर आमा सरस्वती मुभिजलाई प्रदान गरियो । उत्कृष्ट चलचित्र(आदिवासी, जनजाति, विभिन्न मातृभाषी)को पुरस्कार रिजे नासाँले प्राप्त गरेको छ । कार्यक्रममा चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर नृत्य प्रस्तुत समेत गरिएको थियो ।

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही रु. २५,०००।– नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित हुनुहुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही रु. ३५१,१११।– (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो ।

कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति गरिएको थियो । यस प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरुको संलग्नता रहेको थियो । यस नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु– बसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रमको कृतज्ञता ज्ञापन तथा समापन बोर्ड अध्यक्षज्यूले गर्नुभएको थियो ।