बासुदेव मुनाल ‘बाल प्रतिभा पुरस्कार’ बाट आयुष पुरस्कृत


सेलिब्रेटी नेपाल

काठमाडौँ: स्व. बासुदेव कोइराला मुनालको ७०औं जन्मजयन्तीको अवसरमा भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हासिल गरेका आयुष केसीलाई ‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६’ प्रदान गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहित आयुषलाई पुरस्कृत गरे ।

स्व. बासुदेव मुनालको स्मृतीमा गठित बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा स्व. मुनालको तश्विरमा प्रमुख अतिथी विष्टसहित अन्य अतिथीहरुले फूल अर्पण गरेका थिए । वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मष्तिकघात र घाँटीको क्यान्सरबाट पीडित थिए । नौं वर्षसम्म मष्तिकघातले थलिएका उनको निधन भने क्यान्सरका कारण भएको थियो ।

कार्यक्रममा मन्त्री विष्टले बासुदेव मुनालले बाल साहित्यमा पुर्याएको योगदानको कदर गर्दै देशले सधैं सम्झने व्यक्तिको रुपमा प्रशंसा गरे । उनी आफू पनि स्व. मुनालको रेडियो कार्यक्रम र गीत सुनेर हुर्किएको बताए । स्व. बासुदेव मुनालको ७०औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधीश तथा बासुदेव मुनाली बालसखा सुशीला कार्की पनि उपस्थित भएकी थिइन् । स्व. मुनाल विराटनगर रहँदा कार्की र मुनालले एउटै विद्यालय र क्याम्पसमा अध्ययन गरेका थिए ।

स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका इच्छा बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनबाट पूरा गर्ने बताए । पितालाई सम्झिँदै कार्यक्रममा उनले भने- ‘बुबाले धेरै सपनाहरु देख्नु भएको थियो । ‘मुनाल साँझ’ गर्ने, कृतिहरु प्रकाशन गर्ने र सबैभन्दा ठूलो सपना आफ्नो नाममा पुरस्कार प्रदान गर्ने थियो । उहाँको त्यो सपनामध्ये एउटा सपना पूरा गरेका छौं । आउने पुस्ताले बासुदेव कोइराला ‘मुनाल’ सम्झन हामीले अरु कार्यक्रमहरु पनि गर्नेछौं ।’

कार्यक्रममा स्व. मुनालको बारेमा पत्रकार जीवन पराजुलीको निर्देशनमा बनेको भिडियो बायोग्राफी पनि देखाइएको थियो, जहाँ रक्षामन्त्री इश्वर पोखरेल, बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गीतकार डा. कृष्णहरी बराल, कलाकार दीपकराज गिरी, सञ्चारकर्मी नवराज लम्साल, श्रम मन्त्री गोकर्ण विष्टलगायतले उनले रेडियोमार्फत् बाल साहित्य र गायन क्षेत्रमा पर्‍याएको योगदानको प्रशंसा गरे ।

बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनका अध्यक्ष तथा स्वर्गीय मुनालका भाई प्रा. डा. उपेन्द्र कुमार कोइराला (मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति) दाई मुनाललाई सम्झँदा निकै भावविह्वल भएका थिए । उनले दाई मुनालको प्रशंसा गर्दै भने- ‘दाई (बासुदेव मुनाल) अभुतपूर्व क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो । मैले दाईलाई मेरो पितापछिको दोस्रो पिता ठानेको छु ।’ उनले फाउन्डेशनमार्फत् आयुषझैं प्रतिभा भएका धेरै बालबालिकालाई पुरस्कृत गर्ने बताए ।

भविष्यमा स्व. बासुदेव कोइराला मुनालको सम्झनामा सामाजिक कार्य गर्ने उनको भनाई छ । उनी भन्छन्, ‘हामी चाहन्छौं बासुदेव मुनाल अजर र अमर रहनुहुनेछ, जबसम्म हाम्रो परिवार रहन्छ । फाउन्डेशनले यसपटक बाल गायकको रुपमा आयुष केसीलाई परस्कृत गर्‍यो । भविष्यमा यस क्षेत्रमा आबद्ध अरुलाई पनि सम्मान गर्नेछौं । हामी यस फाउन्डेशनमार्फत नमुना कार्य गरेर देखाउन चाहन्छौं ।’ उनले बासुदेव कोइराला बालबालिका र संगीतको संसारमा एक संस्था बनेर अनन्तको पथिक बन्ने बताए ।

स्वर्गीय गायक मुनालले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’ लगायत १५० वटा आधुनिक गीत, सयवटा वालगीत, १२० वटा लोक गीत र ११ वटा राष्ट्रिय गीत गाएका छन् । स्व. मुनालले ‘हाम्रा शत्रु (बाल चित्रकथा संग्रह)’, ‘पि पि गर्छ बाजा (बालगीत संग्रह)’, ‘घैँटोमा घाम (बालनाटक संग्रह)’, ‘हराएको हात (बालकथा संग्रह)’ लगायतका बाल साहित्यिक पुस्तकहरु पनि प्रकाशित गरेका थिए । उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए । उनको ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.