चलचित्र कत्तिको हेर्नुहुन्छ ?
चलचित्र हेर्न मनपर्छ । समय मिलेसम्म हेर्छु ।
नेपाली, हिन्दी, अंग्रेजी कुन चलचित्र बढी हेर्नुहुन्छ ?
जुनसुकै चलचित्र हेर्छु । चलचित्र रमाईलोका लागि हेर्ने हो । म चाँही अंग्रेजी चलचित्र बढी हेर्छु । नेपाली र हिन्दी पनि हेरिरहेकी हुन्छु ।
घरमै हेर्नुहुन्छ की चलचित्र हेर्न हलसम्म पनि पुग्नुहुन्छ ?
चलचित्र हेर्न भनेर पहिल्यैबाट समय छुटाउँदिन् । फुर्सद मिल्नासाथ हेर्ने हो । कहिले घरमा त कहिले हलमा पुगेर चलचित्र हेरिरहेकी हुन्छु ।
यो चलचित्र हेर्ने/नहेर्ने भनेर कसरी छनोट गर्नुहुन्छ ?
मलाई चलचित्रबारे त्यति जानकारी छैन् । त्यसैले म प्रायः प्रदर्शनमा आईसकेपछिको रेस्पोन्सका आधारमा चलचित्र हेर्छु । मिडिया वा साथीहरुबाट चलचित्रका बारेमा रेस्पोन्सहरु आईरहेको हुन्छ । राम्रो छ भन्ने रेस्पोन्स आएका प्रायः चलचित्र हेर्छु ।
पहिलोपटक हेरेको चलचित्रको सम्झना छ ?
मैले पहिलोपटक हेरेको चलचित्र हिन्दी हो । अहिले त्यति सम्झना छैन् । तर त्यो चलचित्रको नायक धर्मेन्द्र भनेर ममीले भन्नुभएको थियो । सानैमा हेरेको भएर त्यो बाहेक अरु याद छैन् ।
अनि नेपाली चलचित्र नी ?
नेपाली अलि बुझ्ने भएपछि हेरेको थिए । मैले हेरेको पहिलो नेपाली चलचित्र ‘देउकी’ हो । उबेला त्यो चलचित्र अत्यन्तै राम्रो लागेको थियो ।
पछिल्लो पटक हेरेको नेपाली चलचित्र ?
पछिल्लो पटक ‘जात्रै जात्रा’ हेरेँ । रवीन्द्र जि साथी हुनुहुन्छ । साथीको नाताले हेर्न गएकी थिए । तर, चलचित्र अत्यन्तै राम्रो लाग्यो ।
तपाईलाई कस्तो चलचित्र मन पर्छ ?
मलाई यस्तो, त्यस्तो भन्ने छैन् । मनोरञ्जनका लागि हेर्ने हो । मलाई ‘ईन्टरटेन्मेन्ट’ चलचित्र बढी मन पर्छ । चलचित्रले हँसाएको होस् ।
चलचित्र हेरेर कहिल्यै रुनुभएको छ ?
रोएकी छैन् । यो कथा हो भन्ने भावले चलचित्र हेरेकी हुन्छु । त्यसैले अहिलेसम्म चलचित्र हेर्दा आँशु आएको छैन् ।
मनपर्ने नायक–नायिका को–को हुनुहुन्छ ?
प्रायः मनपर्छ । शुरुमा ‘देउकी’ हेरेको भएर होला मौसमी मल्ल र राजेश हमाल बढी मनपर्छ । राजेश सरसंग त स्वदेश विदेशका कार्यक्रममा संगै हुन्छौं । कार्यक्रममा उहाँसंग हिँडन पाउँदा पनि गौरव लाग्छ ।
चलचित्रमा अभिनय गर्ने रुचि त जागेन् ?
अहँ । एक दुई पटक त सहायक रोलका लागि कुरा पनि आएको थियो । तर, गायन नै असाध्यै मनपर्ने हुनाले अभिनयमा त्यति रुचि नै लागेन् ।
अनि चलचित्रमा गीत गाउने ईच्छा नी ?
मैले ठूलो चलचित्रमा नगाएपनि सानो चलचित्रमा गीत गाएको छु । पछिल्ला वर्ष ठूलो चलचित्रमा लोक लयका गीतहरुले स्थान पाउँदै आएका छन् । स्थान मात्र होइन् लोक लय समावेश चलचित्र सफल पनि छन् । त्यो हामी लोक कलाकारहरुको लागि पनि गौरवको कुरा हो ।
मलाई एक–दुई पटक ठूलो चलचित्रमा गाउने अवसर आएको थियो । तर म कार्यक्रमको शिलशिलामा विदेश भएर गीत गाउन पाइन् । आउँदा दिनमा चलचित्रमा गीत गाउन सक्छु । हेरौं के हुन्छ ।