‘प्रेमगीत ३’ का मुख्य अभिनेता को हुन् ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: २०७६ कै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेश्रो गीत को बन्ने भनेर धेरैमा उत्सुकता छ । यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शक सामु प्रस्तुत गरेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा प्रतिभाशाली युवा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् । चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका मनिष राउतले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनीसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभब छ ।

दर्शकले अत्याधिक रुचाएको प्रेमगीत सिरिजको तेश्रो श्रृखलामा यी नयाँ अनुहारलाई मुख्य अभिनेताको रुपमा इन्ट्रि गराएको हो । निर्माण टिमले नव अभिनेता राउतका केहि क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा उनि पुरानो जमानाको बन्दुक सहित देखिन्छन् भने अर्कोमा बन्चरो सहित देखिएका छन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो चलचित्र नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउने पक्का भैसकेको छ । चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको चलचित्रलाई स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दैछन् ।