नम्रताको जन्मदिनमा ‘जाइरा’ को पोष्टर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘जाइरा’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य अभिनेत्री नम्रता श्रेष्ठको ३३ औं जन्मदिनको अवसरमा राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । कार्यक्रममा चलचित्रको निर्माण टिमसँगै कलाकार तथा संचारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नायिका नम्रताले आफ्नो जन्मदिन स्पेशल बनाईदिएकोमा चलचित्र टिमलाई धन्यवाद दिइन् । साथै उनले ‘जाइरा’ मा आफ्नो भूमिका यसअघिका चलचित्रहरुमा भन्दा बिल्कुलै फरक रहेको जानकारी दिइन् । ‘यस भन्दा अघिका हरेक चलचित्रको भूमिका मेरा लागी महत्वपुर्ण थिए र ‘जाइरा’मा गरेको भूमिका पनि उत्तिकै महत्वपुर्ण छ’ नम्रताले भनिन् । ‘यो चलचित्रको भूमिकाले बाहिरी जीवनमा पनि धेरे फरक पारेको छ ।’

नम्रताले ‘जाइरा’ मा मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् भने नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन्। त्यसैगरी नव अभिनेत्री श्रृजना पनि चलचित्रमा खेलाडीकै भूमिकामा छिन्। नम्रता र श्रृजनासँगै चलचित्रमा प्रमोद अग्रहरी,अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ सहित नव कलाकारहरु सुजता श्रेष्ठ र सम्राट मगरको मुख्य भूमिका रहेको छ ।


आशुतोषराज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको छ । नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा लिको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा कटामरी फिल्म्सको सहकार्य रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व रहेको छ। त्यसैगरी कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन र केशव थापाको नृत्य निर्देशन रहेको छ । चलचित्र आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउँदै छ ।