‘मारुनी’मा पुष्प र साम्राज्ञीको जोडी कति सुहायो ? (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मारुनी’का कारण चर्चामा छन् । निर्माण घोषणा बाटै चर्चामा रहेको चलचित्रको केहीदिन पहिले सार्वजनिक फस्टलुक पोष्टरबाट चर्चा अझै चुलिएको छ ।

‘रातो टिका निधारमा’ को छायाँकनमा व्यस्त साम्राज्ञी र ‘दाल भात तरकारी’को रिलिज सकेर बसेका पुष्प यो चलचित्रबाट निकै आशावादी छन् । यस्तैमा निर्माण टिमले पुष्प र साम्राज्ञीका केही तस्वीर सार्वजनिक गरेको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमको लगानीमा निर्माण भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । ‘मारुनी’मा राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री सह–निर्माताको रुपमा रहेका छन् ।

चलचित्रको बिषयवस्तुको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन । संजय लामाले छायाँकन गरेको चलचित्रमा अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ । चलचित्रमा डेव्यु अभिनेत्री रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ । चलचित्र आगामी भदौ १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।