चलचित्र निर्देशनमा खगेन्द्र लामिछाने, ‘पानीफोटो’को औपचारिक घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौं: कलाकार, लेखक तथा नाटक निर्देशक खगेन्द्र लामिछानेले चलचित्र निर्देशन गर्ने भएका छन् । खगेन्द्रको निर्देशनमा ‘पानीफोटो’ नामक चलचित्र निर्माण हुने भएको हो । आईतबार राजधानीमा एक कार्यक्रमकाबीच भिडियो क्लिप्स देखाएर चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको छ ।
टुकी आर्टस् प्रा.ली र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रलाई रोजिना सिटौला र रबिन्द्र बज्राचार्यले निर्माण गर्नेछन् । चलचित्रमा खगेन्द्रका साथमा सुनील पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, कमलमणी नेपाल, आशान्त शर्मा, श्याम कुमार खड्का लगायतको अभिनय रहनेछ् ।

पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथामा चलचित्र बन्ने लेखक, निर्देशक तथा कलाकार खगेन्द्रले जानकारी दिए । ‘पानीफोटो’ ८ वर्ष अगाडी मञ्चन भएको खगेन्द्रकै नाटक ‘पानीफोटो’बाट अनुरुपण गरिएको हो ।
‘यो चलचित्र निर्देशन गर्नु मेरा सपनाहरु मध्येको एक सपना हो’ खगेन्द्रले भने, ‘विगतका चलचित्रबाट सिकेका कुरालाई सदुपयोग गरि इमान्दारितापूर्वक चलचित्र बनाउनेछु ।’

आउँदो भदौबाट सुटिङ सुरु हुने चलचित्र काठमाडौं, चितवन, स्याङजा र रोल्पामा छायाँकन गरिनेछ ।
दीपक बज्राचार्यले खिच्ने चलचित्रलाई निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्नेछन् । खगेन्द्र जीवन्त अभिनय गर्ने कलाकारमा पर्छन् । यसअघि उनले ‘टलकजंग भर्सेज टुल्के’ ‘पशुपति प्रसाद’, ‘धनपती’, ‘डम्बरुको डण्डिबियो’, ‘जय भोले’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।