गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको तारबार स्थानीयले डोजर लगाएर भत्काए


सेलिब्रेटी नेपाल

काठमाडौँ: धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले डोजर लगाएर भत्काइदिएका छन् । बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचना स्थानीय व्यक्तिहरुले डोजर लगाई भत्काइदिएका हुन् ।

बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउन्डेसनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । फाउन्डेसनले मंगलबार रंगशालाको जग्गालाई घेराबार लगाएको थियो । स्थानीय बासिन्दाले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेका थिए ।

फाउन्डेसनको साईट कार्यालयका घरबेटी सुरेन्द्र विक, स्थानीय नेकपा नेता प्रकाश कँडेल लगायतका व्यक्तिले डोजर परिचालन गरी रंगशालाको बार भत्काएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बार भत्काउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विक र कँडेलसहित १६ जनालाई नियन्त्रणमा लिएको छ ।

बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । शितलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नु पर्ने स्थानीयवासीको माग छ ।

फाउन्डेसनले लगाएको करिब पाँच सय मिटर तारबार र विश्वविद्यालयले लगाएको बारमा पनि स्थानीयले डोजर लगाएका हुन् । यस्तो घटनाले रंगशाला बनाउनका लागि स्वदेश र विदेशमा रहेर सहयोग गर्नेहरुको चित्त दुख्ने धुर्मुसले बताएका छन् । रंगशाला निर्माणका लागि फाउन्डेसनले देशविदेशबाट सहयोग उठाइरहेको छ ।