‘लभ स्टेशन’ टिमले गर्यो हावाहुरी प्रभावितलाई सहयोग


सेलिब्रेटी नेपाल

काठमाडौँ: बारा र पर्सा जिल्लामा आईतबार राती हुरी बतासका कारण भएको घटना एवम् क्षती प्रति अभिनेता प्रदीप खड्का र चलचित्र ‘लभ स्टेशन’ टिमले दुःख व्यक्त गरेका छन् । पीडितहरुलाई ५० हजार रुपैयाँ सहयोग सहित उनिहरुले अरुसँग पनि सहयोगको आह्वान गरेका छन् । पछिल्लो विवरण अनुसार सो प्रकोपबाट बारामा २७ र पर्सामा ६ सहित ३३ जनाको निधन, ४ सय जना भन्दा बढी घाईते, हजारौं घरवार बिहिन र करोडौंको क्षती भएको छ ।

हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो घडीमा सहयोगको लागि सबैलाई अपिल गरेका छन् । सो घटनापछि राहतको लागि अपिल गर्दै सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै ‘लभ स्टेशन’ टिमले सहयोगको घोषणा गरेको छ । आफु र चलचित्र लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका हावा हुरी पीडितहरुका लागि ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यबस्थापन कोष बारा मार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । जिल्ला प्रशासन प्रमुख पौडेलसँग सम्पर्क गरी पीडिताहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल गरेका छन् ।

हावा हुरीबाट दिवँगत भएकाहरु प्रति श्रद्धासुमन र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले उनीहरुलाई सहयोगका लागि आफुहरुले निरन्तर पहल गर्ने पनि बताएका छन् । उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र लभ स्टेशन २२ चैतबाट देशव्यापी सिनेमा हुँदैछ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबीक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा अभिनेता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।