प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन पर्यो ‘क्याप्टेन’ इशान खड्का


सेलिब्रेटी नेपाल

काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । प्रदर्शनको चौथो सातामा प्रवेश गर्न लागेको चलचित्र ‘क्याप्टेन’ हेर्न फागू पूर्णिमाको अवसरमा काठमाण्डौको बीग मुभिजमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका थिए । प्रधानमन्त्री ओलीले पुरा समय हलमा बसेर कलाकार अनमोल केसी, निर्देशक दिवाकर भट्टराई, निर्माता भूवन केसी, डेव्यु अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग चलचित्र हेरेका थिए ।

चलचित्र हेरेर हलबाट निस्कँदा गर्दा मिडियालाई छोटो प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले भने–‘मलाई चलचित्र राम्रो लाग्यो । इशान खड्का क्याप्टेनका उत्कृष्ट खेलाडी हुन् ।’ पत्रकारको अनमोल केसी कस्तो लाग्यो भन्ने प्रश्नमा रमाइलो जवाफ दिदै भने–‘म अनमोल केसी चिन्दिन । इशान खड्का इज बेष्ट ।’ फुटबल, प्रेम र पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘क्याप्टेन’ तेश्रो सातामा प्रदर्शन भइरहदा लगानी सुरक्षित गरिसकेको निर्माण टिमले बताएको छ ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई सदावहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माता जिया केसी हुन् । चलचित्रमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादन रहेको छ ।