सिनेमा घरमा ‘पुरानो बुलेट’, हेर्नै पर्ने यस्ता छन् कारण


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्रलाई मनोरञ्जनको उद्योग मानिन्छ । चलचित्रले दिने पनि मनोरञ्जन नै हो । यदि यो सर्तलाई मान्ने हो भने आज शुक्रबार चैत १ बाट प्रदर्शनमा आएको चलचित्र ‘पुरानो बुलेट’ दर्शकका लागी राम्रो खुराक बन्न सक्छ । नाम ‘पुरानो बुलेट’ भएपनि यसले युवा सपना, प्रेम र संघर्षलाई देखाएको छ । चलचित्रले पूर्वी तराईको लेटाङमा पुर्याउनेछ । रुख–बोट्यानले पालुवा फेर्दै गरेको मनमोहक मौसमलाई पृष्टभूमीमा राखेर रैथाने युवा–युवतीको कथा चलचित्रले देखाउँछ ।

चलचित्रलाई भीषण राइले निर्देशन गरेका हुन् । लामो समय रंग पत्रकारिता गरेका राईले फिल्ममा पूर्वी तराईको भाषा, लवज, चालचलन, रीतिथिती टपक्कै टिपेका छन् । फिल्मका पात्रहरु यस्ता लाग्छन्, जो हाम्रै साथीभाई हुन् । हामीले दिनहुँ साक्षतकार गरिरहने कथा र परिवेश यसमा छ । धामीझांक्रीको प्रथा, विवाह, मृत्यु जस्ता किराती संस्कार फिल्ममा देख्न सकिन्छ । तर, यस्ता संस्कारलाई जबरजस्ती घुसाइएको छैन, कथाको माग अनुसार त्यसको सिलसिला जोडिएको छ । ‘पुरानो बुलेट’ हेर्नेले किराती रहनसहन, पूर्वेली चालढालसँग साक्षतकार गर्न सक्छन् ।

चलचित्रको कथा लेटाङको बस्तीबाट सुरु हुन्छ । कथाका सूत्रधार हुन्, प्रताप राई । प्रताप राईको रुपमा अनुपविक्रम शाही देखापरेका छन् । प्रताप एक विन्दास र आफ्नो मर्जी अनुसार हिँड्ने युवा हुन् । उनलाई घर, परिवार, करियर केहीको परवाह छैन । उनको पुरानो बुलेट बाइक छ । त्यही बाइकमा हिँड्छन् । जग्गा बिक्री, ठेक्का पट्टा, पैसा उठाउने कामबाट प्राप्त हुने सानोतिनो रकमले मस्ती गर्छन् । यसरी मस्ती नै मस्तीमा उनको दैनिकी बित्दो छ ।

उनलाई घर नजिकैकी एक युवती जमुना वर्षा सिवाकोटीले मन पराउँछ । जमुना शुसिल र सचेत युवती हुन् । उनी प्रतापको परिवारसँग निकट पनि छिन् । यस्तैमा इन्ट्री हुन्छ, बोनिका अर्थात माला लिम्बुको । अब प्रतापको जीवनमा नयाँ मोड आउँछ । कथामा उतारचढाव सुरु हुन्छ । त्यसपछि कथा कसरी अगाडि बढ्छ ? यसका लागि भने चलचित्र हेर्नैपर्छ । यो चलचित्रमा युवाहरुको सपना र वाध्यतालाई उजागर गरिएको छ ।