देशैभर हाउसफूल ‘क्याप्टेन’ दुइ दिनमा झन्डै २ करोड ब्यापार


सेलिब्रेटी नेपाल

काठमाडौँ: शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’ले नेपाली बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । शुक्रबारको बिहानी शोमा दर्शकको संख्या केही कम भएता पनि दिवा शोबाट पिकअप लिएको हल सञ्चालक तथा वितरकको भनाई छ । बितरक मनोज राठीले सेलिब्रेटी नेपाल सँग कुरा गर्दै भने शुक्रबार ‘क्याप्टेन’ले अल नेपाल ६० लाख ग्रसको ब्यापार र आज शनिबार एक करोड २५ लाख माथी व्यापार गरेको छ । आज शनिबार देशभरका मल्टीप्लेक्स देखि सिंगल हलसम्म दर्शकको चाप उच्च रहेको छ । वितरक राठीका अनुसार आज शनिबार सिंगल र मल्टिप्लेक्सका सबै शो हाउसफुल भए । हल सञ्चालक र बितरकका अनुसार ६ महिना पश्चात चलचित्र हेर्न हलसम्म दर्शक ओइरिएका छन् । यस्तै शनिबारका बिहानी शोबाटै काठमाडौंको गोपी कृष्ण हलमा ३ हल हाउसफुल रहेको र २ बजेको शोमा भने गोपी, कृष्ण, राधा, मिरा र शिवाय लगायतका पाँच हलमा चलचित्र लागीरहेको वितरक राठीले जानकारी दिए ।

यस्तै काठमाडौंका अन्य सिनेमा हलहरु अष्टनारायण, गुण, गंगा, कलंकी,बाराही लगायतमा सिनेमा घरमा पनि उत्तिकै दर्शकको चाप रहेको वितरक राठीले बताए । यो सँगै मोफसलका पोखरा, नारायणघाट, बुटवल, धरान, बिर्तामोड, बिराटनगर, नेपालगञ्ज लगायतका साना, ठुला स्टेशनमा पनि चलचित्रले राम्रो ब्यापार गरेको उनले बताएका छन् ।

शनिबार दिउँसो १ः३० बजे अभिनेता अनमोल केसी नेपाल प्रहरी र बडिगार्डको सुरक्षा सहित दर्शक प्रतिक्रिया लिन गोपी कृष्ण हल पुगेका थिए । अनमोललाई हलमा आफ्नै आँखा अगाडी पाए पश्चात दर्शकले अनमोल अनमोलको नारा लगाएका थिए । अनमोललाई आफुसँग सेल्फी खिच्न चाहने दर्शकको भिडबाट निस्कन निकै हम्मे हम्मे परेको थियो । दर्शक तथा फ्यानलाई फुटबल उपहार दिँदै नेपालको राष्ट्रिय झण्डा देखाउँदै राष्ट्रिय गीत ‘सयौं थुगां फुलका हामी’ गाउँन लगाएका थिए ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । चलचित्रमाअर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी,प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।