गायिका मिलनको चौँथो एल्बम ‘मिलन यात्रा’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका मिलन नेवारको चौँथो एल्बम ‘मिलन यात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एल्बम तथा भिडियो सार्बजनिक गरिएको हो ।

माननिय गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता-पिता लगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको उक्त एल्बममा कुल सात गीत समावेश छन् जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनय समेत उनिहरुले नै गरेका छन् । हरी हुमागाईको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ ।

सोही कार्यक्रम मार्फत उनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्य उनले लिएकी छिन् । सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने छिन् ।

गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत-संगीत पारखी भएको बताएका थिए । उनले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिएका थिए ।