शिल्पा र आयुष्मानको जोडी ‘सानो मन’ घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुयोग गुरुङको डेब्यु निर्देशनमा चलचित्र ‘सानो मन’ निर्माण हुने भएको छ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ । मंगलवार माघे संक्रान्तिको अवसरमा राजधानीमा एक कार्यक्रम बीच चलचित्र को औपचारिक निर्माण घोषणा गरिएको छ ।

‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले चलचित्र ‘सानो मन’ आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा चलचित्रको स्क्रिप्ट सुनिसकेको बताइन् ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । चलचित्र ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा मुख्य अभिनय रहनेछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बन्न लागेको हो । आलोक शुक्लाले खिच्ने चलचित्रमा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । चलचित्रमा सुयोग सोताङको संगीत रहनेछ । चलचित्रको घोषणा सभामा अभिनेत्री गौरी मल्लको जन्मदिन समेत सेलिब्रेट गरिएको थियो ।