मधुरिमा फूलकुमारी पुरस्कार प्रदान


सेलेब्रिटी नेपाल आश्विन २७ – गायिका कुन्ती मोक्तानलाई निरन्तर संगीत साधना, लगनशीलता र सफलताको मूल्यांकन गर्दै यस वर्षको ‘मधुरिमा फूलकुमारी महतो संगीत सम्मान’ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सम्मान कार्यक्रममा मोक्तान ५१ हजार रुपैयाँसहित ताम्रपत्रले सम्मानित भएकी हुन् ।
मधुरिमा फूलकुमारी महतो युवा संगीत सम्मान भने गायक दाजुभाई सत्य-स्वरूपराज आचार्यले पाए । उनीहरूलाई २५ हजार रुपैयाँ र ताम्रपत्रले सम्मान गरियो । बाजुराकी लोकगायिका डिक्रादेवी गाइनेलाई २५ हजार रुपैयाँ र ताम्रपत्रसहित ‘ओझेलका तारा संगीत सम्मान’ र ‘बाल प्रतिभा संगीत सम्मान’ बाट गायक जोन पोखरेललाई सम्मान गरियो । १३ वर्षे गायक पोखरेलले २५ हजार रुपैयाँ नै कदर स्वरूप पाए । लोकगायिका गाइने ठाडीभाका र देउडा गायनका लागि परिचित हुन् भने पोखरेल बालगीत र भक्ति गीतमा आफूलाई परिस्कृत गरिरहेका प्रतिभा हुन् । कलाकारलाई सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, फूलकुमारी महतो मेमोरियल ट्रस्टका संस्थापक डा. उपेन्द्र महतो, रामाशिष महतो र गैरआवासीय नेपाली संघ -एनआरएन) अध्यक्ष जीवा लामिछानेले संयुक्त रूपमा सम्मान गरेका थिए ।मधुरिमा नेपालले २०५५ देखि दिँदै सम्मान दिँदै आएको संस्थापक अध्यक्ष प्रदीप बमजनले बताए ।