श्रम मन्त्री गोकर्णको नजर ‘गोपी’माथि


सेलिब्रेटी नेपाल

काठमाडौँ:श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ‘गोपी’ चलचित्रको टिमसँग भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले चलचित्रका कलाकार,निर्माता तथा निर्देशकलाई भेटेका हुन् ।

मन्त्री विष्टसँगको भेटघाटमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए । सो भेटमा मन्त्री विष्टले चलचित्रको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि चलचित्रका निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए ।

‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने चलचित्रको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई चलचित्रले समेटेको देख्दा एकदमै खुशी लाग्यो,’ मन्त्री विष्टले भने, ‘चलचित्रप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’

निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले चलचित्रप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । ‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, देशमा । त्यो समूहलाई चलचित्रको माध्यमबाटै भए पनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका थियौं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरथोर भए पनि सफल भएको महसुस भएको छ ।’

Copyright © 2012 - 2026 | All Right Reserved.