सन्तोष पन्त रबिन्द्र,विल्सन उर्वषी अर्थात वर्षाको पछि पछि


सेलिब्रेटी नेपाल

काठमाडौँ : जनकपुरका रबिन्द्र झा स्कुले जीवनमै नाटकमा सक्रिय थिए । त्यतिबेला उनलाई कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’ खुबै मन पर्थ्यो। उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाईलले अभिनय पनि गर्थे । उनलाई जीवनमा एक पटक भए पनि सन्तोष पन्तसँग काम गर्ने धोको त्यतिबेला नै थियो । त्यो धोको यतीबेला चलचित्र ‘चौका दाउ’ मार्फत पुरा भएको रबिन्द्रले बताएका छन् । सञ्चारकर्मीसँग गफिँदै रबिन्द्रले भने,‘सन्तोष पन्त दाईसँग हिजो आजका कुरामा अभिनय गर्न साह्रै रहर थियो तर त्यो कार्यक्रम बन्द भयो । चलचित्र ‘चौका दाउ’मा उहाँसँग काम गरेर हिलो आजका कुरामा अभिनय गर्ने धोको मेट्न पाएँ ।’

‘चौका दाउ’ मा पहिलो दिन सन्तोष पन्तसँग काम गर्दाको अनुभवबारे रबिन्द्रले भने,‘उहाँ साह्रै बरिष्ट कलाकार भएकाले पहिलो दिन काम गर्न साह्रै गाह्रो पर्यो र म निक्कै नर्भस भएँ । तर सन्तोष दाई यती चाँडै नजिक हुनुभयो की भोली पल्टबाट उहाँसँग काम गर्न मलाई सजिलो हुँदै गयो ।’

यो चलचित्रमा सन्तोष पन्त सहित आफु, तैयब शाह, विल्सन बिक्रम राई र अजश्र ढुँगाना गरी पाँचै जना कलाकारले उर्वषी अर्थात वर्षा राउतलाई मन पराएर उनको पछि लाग्ने भूमिका निर्वाह गरेको पनि रबिन्द्रले बताए,‘वर्षाको पाँच पाण्डबको रुपमा हामी छौं । जसमध्य म युधिस्टिर जस्तो सोझो छु भने सन्तोष दाई अर्जुन जस्तो चलाख र चतुर बन्नु भएको छ, तैयब दाई पनि उर्वषी भनेपछि सबैकुरा छाडेर उसकै पछि लाग्ने माहिर व्यापारीको रुपमा हुनुहुन्छ ।’ रबिन्द्रले हाँस्दै भने,‘सन्तोष पन्त र तैयव शाहजस्ता बरिष्ट कलाकारहरुले केटीको पछि लाग्ने अल्लारे भूमिका गर्दा उहाँहरुको अघि त हामी फिक्का पो हुँदा रहेछौं ।’

पुष २७ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र चौका दाउमा रबिन्द्रले भूपतिको भूमिका निर्वाह गरेका छन् । रबिन्द्रकै भनाईमा उनी यो चलचित्रमा जग्गा प्लटिङ गरेर बेच्ने व्यापारीको भूमिकामा छन्,‘जग्गाको मानमा पृथ्वीमात्र हैन, चन्द्रमा समेत प्लटिङ गरेर बेच्न पछि नपर्ने भनेपछि म कति खतरनाक जग्गा ब्यापार हुँला त । जे भए पनि मैले निर्वाह गरेको भूपतिको रोलबाट दर्शकले मनोरञ्जनसँगै जग्गा दलालीको फन्दाबाट कसरी बच्ने भन्नेबारे पनि जानकारी लिन सक्नु हुनेछ ।’

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको चलचित्र ‘चौका दाउ’ को परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् । यो फिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । पूर्णेन्दुको काम आफुलाई निकै मन परेको र समग्रमा चौका दाउ एउटा हास्यप्रधानसँगै रमाईलो फिल्म बनेको पनि रबिन्द्रले बताए । चौका दाउको लागि आफुले चलचित्र ‘छक्का पञ्जा ३’ मा समय दिन नसकेर त्यो चलचित्र खेल्न नभ्याएको पनि उनले खुलासा गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.