सेलिब्रेटी नेपाल

काठमाडौँ : विपिन कार्की स्टारर चलचित्र ‘गोपी’को पोस्टर सार्बजनिक गरिएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनलाइ फिचर्ड गरिएको छ । एउटा पोस्टरमा मात्र चलचित्रका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।
आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । चलचित्र आगामी माघ १८ मा सार्बजनिक प्रदर्शनमा आउने तय भइसकेको छ ।
पोस्टरको डिजाइन टौवा क्रियसनका विजय बस्यालले गरेका हुन् । एकैप्रकारको पोस्टर आइरहेका बेला फरक र मौलिक पोस्टर डिजाइन गर्न पाएकोमा बस्याल सन्तुष्ट छन् । विपिनको सडक दुर्घटनाका कारण चलचित्रको पोस्टर निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको हो । विपिनलाई यसै हप्ता गाई फर्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाले बताए ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यु बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत गरेका छन् ।
चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँवाला गौतम, सरोज अर्याल, केशव राई लगायतको पनि मुख्य भूमिका रहेको छ ।