सेलिब्रेटी नेपाल
काठमाडौँ : १७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएपनि उनले आज साँझ ५ बजेसम्म नृत्य गर्ने लक्ष्य राखेकी छन् ।
गिनिज बुक अफ वर्ल्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको थियो । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी हुन् । कलामण्डलमको यो रेकर्ड तोडेर त्यो भन्दा बढी लगातार नृत्य गर्दै विश्व रेकर्ड कायम गर्ने अभियानमा बन्दना थिइन् ।
उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका छन् । कार्यक्रमस्थलमा निर्णायक पनि छन् । गिनिज बुक अफ वल्र्डको नियमअनुसार हरेक घण्टा नृत्य गर्दा उनले प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउने गरेकी छन् । त्यसबाहेक बाँकी समय उनले नृत्य रोकेकी छैनन् । नाच्दानाच्दै चिया, पानीसमेत पिउँदै आएकी बन्दनाको खुट्टा सामान्य सुन्निएको भए पनि अरू समस्या देखिएको छैन ।