नौ बजे के हुन्छ, कसको ९ बज्ला ?


सेलीब्रेटी नेपाल फागुन ९ गते-सिनेमाहरू नचलेर निर्माताहरूको बाह्र बजिरहेको अवस्थामा एउटा गजवको नाम भएको सिनेमा यतिबेला प्रदर्शनका लागि तयार भएको छ। सिनेमाको नाम हो ‘नाइन ओ क्लक’। नौ बजे के हुन्छ? कसले कसलाई के गर्छ वा यसको नाम ‘नाइज ओ क्लक’ नै किन राखियो? भन्नेबारे भने यसका निर्माता रमेश संवेदनाले केही पनि बोल्न चाहेनन् न त निर्देशक बाबुराम ढकाल नै केही भन्न चाहन्छन्। उनीहरूको जवाफ छ, ‘जसरी सिनेमाको नाममा कुतूहल र चासो छ, त्यसैगरी हाम्रो सिनेमाको कथा र विषय पनि त्यस्तै चासो लाग्दो छ।’नायिका सुम्निमा घिमिरेलाई निकै मदहोस् र ग्ल्यामर्स भूमिकामा प्रस्तुत गरिएको छ यो चलचित्रमा। उनलाई पनि सोधियो, ‘९ बजे के गरिएको छ त?’ उनले पनि पूरा जवाफ नै दिइनन्। ‘यी कुरा त चलचित्र हेरेपछि नै थाहा हुन्छ नि। अहिले नै नभनौँ। किनकि सिनेमाको गुदी र रहस्य भनेकै त्यही हो।’ चलचित्र ‘नाइन ओ क्लक’का सबै कलाकार र प्राविधिक यतिबेला यो चलचित्रप्रति ज्यादै वफादार देखिएका छन्। यति मात्र होइन, यसै सिनेमाका नायक धु्रव दत्त पनि यो सिनेमालाई विभिन्न देशमा रहेका नेपालीमाझ पुर्‍याउन बेलायतबाटै बजार व्यवस्थापन गरिरहेका छन्। सिनेमा खेल्नका लागि मात्र बेलायतबाट नेपाल आएका उनी अहिले बेलायत पुगिसकेका छन्। उनकै पहलमा यो चलचित्र मार्च १५, १६ र १७ मा बेलायतमा रिलिज हुने भएको छ भने मार्च २४ मा ‘नाइन ओ क्लक’ हङकङमा रहेका नेपालीमाझ प्रदर्शन हुने भएको छ। यसरी विदेशमा रहेका नेपालीले ‘नाइन ओ क्लक’बारे जानकारी पाएपछि नेपालमा भने यो चलचित्र चैत १६ गतेदेखि प्रदर्शनमा आउनेछ। निकै रहस्यमयी तरिकाले ‘नाइन ओ क्लक’लाई दर्शकमाझ ल्याउन यतिबेला दत्तचित्त भएर लागेको यो चलचित्रको युनिटको चाहिँ बाह्र नबजोस्, अहिले हामी यति मात्र भन्न सक्छौँ।

– घटना र विचार साप्ताहिक बाट साभार गरिएको