ʻजय भोलेʼ ले एक सातामा ३ करोड व्यापार गर्यो


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ʻजय भोलेʼले आफ्नो लगानी सुरक्षित गरेको छ । दशैंको अवसर पारेर असोज ३० गते फूलपातिको दिनदेखि प्रदर्शनमा आएको चलचित्रले एक सातामा लगानी सुरक्षित गर्न सफल भएको निर्देशक अशोक शर्माले जानकारी दिए । आज राजधानी काठमाडौँमा पत्रकार भेटघाट गर्दै चलचित्रको ब्यापारिक रिपोर्ट सार्बजनिक गरिएको हो । १ करोड ३५ लाख रुपैयाँ लगानीमा बनेको चलचित्रले एक सातामा देशभरबाट ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँ ग्रस कलेक्सन गरेको निर्देशक शर्माले बताए ।

यो चलचित्रले दुई साथीबीचको आत्मीयता र प्रेमको कथा भन्छ । चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा उनी प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन,राजनराज शिवाकोटी संगीत राजु ढुंगानाको सम्पादन रहेको छ । चलचित्रमा समावेश गितमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।