दशैंमा ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ : ‘इगो’ र ‘कब्जा’को मनस्थितिले जुध्दैछन् चलचित्र


काठमाडौं । दशैं हामी आम नेपालीको ठूलो चाड हो नै । नेपाली चलचित्र र चलचित्रकर्मीका लागी पनि दशैं चाडभन्दा कम छैन । यही चाडमा हरेक वर्ष चलचित्र रिलिजका लागि प्रतिस्पर्धा हुने गर्छ । राम्रो व्यापार हुने आशामा निर्माताहरु दशैंमा आफ्नो चलचित्र हलमा लगाउन तछाडमछाड गर्दै आउँछन् । तर यसवर्ष चलचित्र रिलिजको मात्र प्रतिस्पर्धा हुनेजस्तो देखिएन ।

यसवर्षको दशैंमा दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ३’ र अशोक शर्माको चलचित्र ‘जय भोले’को जुधाई हुने पक्काजस्तै छ । तर यो जुधाई रिलिजको मात्र नभई अन्य थुप्रै कुराहरुसंग जोडिएको चलचित्रसम्बन्धी सरोकारवालाहरु बताउँछन् ।

यतिबेला चलचित्र ‘जय भोले’लाई दशैंमा प्रदर्शन गर्ने भनेर प्रचारप्रसार गरिएको छ । साथमा ‘छक्का पञ्जा ३’ पनि दशैंमा नै प्रदर्शन गर्ने भन्दै प्रचारप्रसाररत छ । तर दुवै चलचित्रको रिलिज मिति भने पक्का भएको छैन । त्यसकारण पनि यसलाई सिनेनगरीमा एकआपसको ‘इगो’को लडाईका रुपमा लिईएको छ ।

हुन पनि त्यस्तै देखियो । बिहीबार काठमाडौंमा चलचित्र ‘जय भोले’को ट्रेलर रिलिज कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ निर्देशक अशोक शर्माले त्यस्तै आशय व्यक्त गरे । पत्रकारहरुको प्रश्नमा अशोक शर्माले भने, ‘चलचित्रको सम्पूर्ण काम सकिएको छ । दशैंको घटस्थापनादेखी पूर्णिमासम्ममा चलचित्र रिलिज हुन्छ ।’ उनले चलचित्र दशैको घटस्थापनादेखि पूर्णिमासम्म कुनै पनि दिन रिलिज हुने बताए । आखिर चलचित्रको सम्पूर्ण काम सकिसकेका अशोकले प्रदर्शन मिति किन तोकेका छैनन् ? त्यसको सिधा कारण ‘छक्का पञ्जा ३’ संग एकै मितिमा आफ्नो चलचित्र लगाउन चाहान्छन् । उनिहरुबिच विगतदेखी नै केही कुराहरुको ‘इगो’ रहेको बताईन्छ । के अशोकको ‘इगो’ले उनलाई फाइदा गर्ला ? उनले पक्कैपनि सोँच्नुपर्ने देखिन्छ ।

यता चलचित्र जुधाई हुनुमा ’छक्का पञ्जा ३’ यूनिटको पनि कमजोरी देखिन्छ । यो टीमले हरेक वर्ष दशैंमा चलचित्र रिलिज गर्दै आएको छ । जसका कारण विगतदेखी अरु निर्माताले दशैंमा आफ्नो चलचित्र रिलिज गर्ने आँट गर्न सकेका थिएनन् । यसवर्ष पनि ’छक्का पञ्जा ३’ यूनिट ‘दशैंमा मै लगाउँ मै कमाउँ’ भन्नेमा लागेको देखिन्छ । दोष दशैंमा चलचित्र जुधाउँछु भन्नेको मात्र होइन जुध्नबाट अघिपछि नसर्नेको पनि हो । निर्माता ज्यूहरु, बेलैमा सोचौं । एउटा टिमले ‘इगो’ नसाँधौं अर्को टिम ‘कब्जा’ को मनस्थिती हटाऔं, समस्या पक्कै समाधान हुनेछ ।