यौन साहित्यको बारे राजधानीमा चर्चा


सेलीब्रेटी नेपाल फागुन ५ गते -साहित्यकार पुष्कर लोहनीले यौन विषयमा साहित्य लेख्नेलाई नकारात्मक रूपमा नहेर्न आग्रह गर्नुभएको छ ।हृवाइट लोटस बुक सप कोपुन्डोलले राजधानीमा गरेको साहित्यिक गोष्ठीमा लोहनीले यौनलाई शालीन ढङ्गले प्रस्तुत गर्न नेपाली साहित्यकारलाई आग्रह गर्नुभयो । संस्कृत साहित्यका महाकवि कालीदास तथा भर्तृहरि, विल्लड, अमरुक र विद्यापतिले यौन विषयलाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरेको तर पश्चिमा साहित्यमा त्यस्तो नपाइएको बताउनुभयो । उहाँले भन्नुभयो-’प्रायः नेपाली साहित्यकार कम पढ्छन् र पुरानै कुरा लेख्छन्, कतिपय वरिष्ठ साहित्यकारले पनि विश्व साहित्यमा लेखिसकिएका कुरा दोहोर्‍याएका छन् ।’सो अवसरमा साहित्यकार अतृप्त पाण्डेयद्वारा लिखित’हुरी नचलेको भए…’शीर्षक कथासङ्ग्रहबारे चर्चा गरिएको थियो । विवेक सिर्जनशील प्रकाशन प्रालि, काठमाण्डौँ प्रकाशित सो सङ्ग्रहमा लेखकले विसं २०२९ देखि २०४८ सम्म लेखेकामध्ये छनोट गरिएका ११ कथा समाविष्ट छन् । पाण्डेयको यसअघि ‘समयसित रुमाल छैन (२०६७)कवितासङ्ग्रह प्रकाशन भएको थियो ।कार्यक्रममा साहित्यकार लोहनी, शैलेन्द्र साकार, पूर्ण विराम, युयुत्सु आरडी शर्मा, श्याम रिमाल, प्रभात सापकोटा, पुण्य गौतम विश्वास, चेतनाथ धमला र नारायण निराशीले समसामयिक तथा श्रृङ्गारिक कविता र हाइकु प्रस्तुत गर्नुभएको थियो । आयोजक बुक सपको संयोजनमा ‘चिन्तन’ शीर्षक साहित्य,कला,संस्कृतिको द्वैमासिक पत्रिका पनि यसै वर्ष प्रकाशन हुने भएको छ