चलचित्र पत्रकार संघ नेपालको १९ औं बार्षिकोत्सव सम्पन्न पाँच पत्रकारलाई सम्मान र पुरस्कार


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले स्थापनाको १९ औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस मनाएको छ । राजधानीमा सोमवार आयोजित एक औपचारिक कार्यक्रमका बीच वार्षिकोत्सवको अवसरमा पाँच चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

यस बर्ष चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट दयाराम पाण्डे र ध्रुव लम्साललाई सम्मानित गरिएको छ । लम्साल र पाण्डेलाई ट्रफी र ताम्रपत्र सहित सम्मान प्रदान गरियो । यस्तै, चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय लक्ष्मण सुवेदी र सन्ध्या थापालाई पुरस्कृत गरिएको छ । पत्रकारद्वयलाई नगद २१ हजारसँगै ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

गत वर्षदेखि वितरण गर्न थालिएको ‘प्रोत्साहन पुरस्कार २०७५’ अन्जान दाहाल (मनिष) लाई एक थान ल्यापटप, ताम्रपत्र र ट्रफीसहित प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सम्मानित तथा पुरस्कृत पाँच जना चलचित्र पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरे । आफ्नो स्थापना दिवस ७ जेठलाई संघले चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ । संघले सम्मान र पुरस्कारसहित विभिन्न कार्यक्रम गरेर चलचित्र पत्रकारिता दिवस मनाएको हो ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, संस्थापक अध्यक्ष भरत शाक्य, पुर्व अध्यक्ष विदुर गिरीले कार्यक्रममा मन्तव्य राख्दै शुभकामनाको साथमा संघले गरेका पछिल्ला गतिविधीहरुको प्रशंसा गरेका थिए ।

राज्यमन्त्री बाँस्कोटाले चलचित्र पत्रकारको हकहितमा काम गर्न राज्य सधै तयार रहेको बताए । उनले भने, ‘सबै क्षेत्र सबल भएमात्र देश विकास हुन्छ । चलचित्र पत्रकारिताको क्षेत्रमा सरकारले गर्न सक्ने सबै सहयोग गर्नेछ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.