चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र पत्रकार संघ, नेपालको बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष तथा हाल रमाईलो टिभिका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । पाण्डे र लम्सालले चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गर्न लागेको हो ।

त्यस्तै, संघका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा देखिएकोे सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको संघका महासचिव अनिल यादवले जानकारी दिए । पुरस्कार स्वरुप रु.२१ हजार नगद, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ ।

साथै, फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष) लाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ । आगामी जेठ ७ मा हुन गईरहेको १९ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.