उपत्यका बाहिर ‘हैरान’


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘हैरान’ ले प्रतिभाको खोजि गर्ने भएको छ । हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजि’ गर्न लागेको हो । नृत्य , अभिनय र गायन विधामा प्रतिभाको खोजि वैशाख २० गते झापाबाट सुरु हुने अडिसनका लागि चलचित्र युनिट मोफसल लागेको छ । चलचित्रका निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट , निर्मल शर्मा , सागर लम्साल , आरोही शर्मा मोफसल यात्रामा निस्किएका हुन् । टिमले अडिसन लिनुका साथै स्थानीय सञ्चारकर्मी र दर्शकसँग चलचित्र बारे अन्तरक्रिया समेत गर्नेछन । २० गते झापाको विर्तामोडवाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत ‘हैरान’ टिमले जनाएका छन् । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २/२ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा चलचित्र हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् । जेठ ४ मा रिलिज हुने फिल्म ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् ।

डेब्यु चलचित्र ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो चलचित्र लिएर आएका छन् । अघिल्लो चलचित्रमा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

चलचित्रमा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रमा निरज कडेलको छायाँकन रहेको छ भने उनलाई नवराज उप्रेतीले एसिस्ट गरेका छन् । साथै यसमा अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।