लिली बिलीले मलाई फेरि डेब्यु गराउनेछ : प्रदीप खड्का


सेलिब्रेटी नेपाल काठमाडौँ
एउटा चलचित्रमा अभिनय गरेबापत २५ लाख रुपैयाँ लिँदै आएका अभिनेता प्रदीप खड्काले आफूलाई यति पारिश्रमिक निर्माताहरूले नै प्रस्ताव गरेको बताएका छन् । यही ३० चैतबाट प्रदर्शन हुने चलचित्र ‘लिली बिली’ मा २५ लाख रुपैयाँ लिएका प्रदीपले पारिश्रमिकबारे भने, ‘मेरा विगतका चलचित्रको काम हेरेर नै लिली बिलीका निर्माताले मलाई २५ लाख रुपैयाँ पारिश्रमिक दिनु भएको हो । अहिले ३०÷३५ लाख रुपैयाँ पारिश्रमिक दिएर फिल्म खेल्न प्रस्तुत गर्नेहरू धेरै हुनुहुन्छ ।’ लिली बिली हिट हुँदा त्योभन्दा बढी पारिश्रमिकमा निर्माताहरूले आफूलाई प्रस्ताव गर्ने विश्वास उनले व्यक्त गरे ।

पारिश्रमिकजस्तै आफूले फिल्ममा यो नायिका भनेर कहिल्यै माग नगरेको पनि यी अभिनेताले जिकिर गरे, ‘विगतका चलचित्रमा निर्माताहरूले जो नायिका मेरा लागि दिनुभयो सोही नायिकासँग काम गरें । लिली बिलीमा पनि निर्माताकै चाहनाअनुसार मैले नव नायिका जसिता गुरुङसँग र मभन्दा अग्रज नायिका प्रियंका कार्कीसँग अभिनय गरें ।’ प्रियंकासँग काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको र जसितालाई आफूले जानेको कुरा सिकाएको पनि उनले राजधानीलाई बताए ।

सोमबार राधजानीसँगको कुराकानीमा प्रदीपले चलचित्र लिली बिली आफूले सबैभन्दा बढी आशा गरेको चलचित्र हो भन्दै अगाडि थपे, ‘प्रेम गीतको दुई शृंखला हिट भएपछि मलाई अहिले पनि प्रेम गीतकै हिरोका रूपमा दर्शकले चिन्दै आएका छन् । अब लिली बिली आएपछि मलाई यसबाट पुन डेब्यु भएको नायक भनेर दर्शकले सम्झने विश्वास मैले लिएको छु ।’

बेलायत, स्कटल्यान्ड र टर्कीमा छायांकन गरिएको यो चलचित्रमा त्यहाँको सुन्दरतालाई उतारिएको छ । सुन्दर दृश्यका सामु आफ्नो अभिनय फितलो नहुने प्रदीपले दाबी गर्दै भने, ‘त्यहाँको दृश्य जति सुन्दर छ, हामीले पनि त्यत्तिकै राम्रो काम गरेका छौं । स्कटल्यान्डमा माइनस ९ डिग्री सेल्लियसमा एक सरो कपडामा लिली बिलीको छायांकनमा चिसोले कक्रिएर बेहोस हुँदासम्म पनि हामीले काम छाडेनौं ।’ चिसोका कारण अभिनेत्री जसिता तीनपटक र आफू एकपटक छायांकन स्थलमा बेहोस भएको पीडा पनि उनले सुनाए । विदेशमा छायांकन टिम सानो भएकाले आफूले लाइट बोक्ने साथीहरूदेखि खाना पकाउने भान्साका साथीहरूलाई पनि काममा सघाएर लिली बिलीका लागि समूहमा दुःख गरेको अनुभव पनि उनले सुनाए ।

निर्माता गोबिन्द शाही र सुदीप खड्काले लिली बिलीलाई विदेशको महँगो सेटमा छायांकन गरेर राम्रो चलचित्र तयार गर्न कुनै कन्जुस्याइँ नगरेको पनि प्रदीपको कथन थियो । जसिता र आफ्नो जोडीलाई बजारमा अहिले निकै रुचाइएको भन्दै लिली बिली हेरेपछि आफूहरूको जोडीले दर्शकले अझै धेरै प्रशंसा गर्ने विश्वास उनले व्यक्त गरे ।

अभिनेत्री जसिताले पनि आफू अभिनयको विद्यार्थी नभएको र निर्देशक मिलन चाम्स, अभिनेता प्रदीप खड्कालगायतका साथीहरूले अभियनमा आफूलाई पूर्ण प्रेरित गरेको बताइन्,‘चलचित्र हेर्दा जति सजिलो देखिन्छ काम गर्न निकै गाह्रो हुँदो रहेछ । मैले यसमा धेरै नै मेहनत गरें र मलाई अभिनयमा साथ दिएर प्रदीपलगायतका साथीले निकै सहज बनाइदिए ।’ केही चलचित्रबाट प्रस्ताव आएको अनुभव जानकारी गराउँदै अब अभिनयसम्बन्धी प्रशिक्षण लिएर बाँकी फिल्म गर्ने पनि उनले बताइन् ।

राजधानी दैनिक बाट जस्ताको तेस्तै

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.