साँघुका सम्पादकलाई ७ दिनभित्र ज्यान मार्ने धम्की



सेलीब्रेटी नेपाल माघ २४ गते- पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई फोनमार्फत लगातार ज्यान मार्ने धम्की आएको छ । धम्की दिनेले आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाको विषयमा सोमबारको अंकमा प्रकाशित समाचारमाथि आपत्ति जनाएका थिए ।
विभिन्न देशको नम्बरबाट आफूलाई गालीगलौजसहित मार्ने धम्की आइरहेको बुढाथोकीले जनाएका छन् । उनका अनुसार मंगलबार दिनभर बेग्लाबेग्लै देशका नम्बरबाट अश्लील गालीसहित सात दिनभित्र ज्यान लिने धम्की दिइएको छ । साँघु साप्ताहिकले ‘काजीले कुम्ल्याउँदा महासंघको मौनता शीर्षकमा समाचार छापेको थियो ।
‘आङकाजी शेर्पाका बारेमा किन समाचार छापिस् ? क्षमायाचनासहित माफी माग्छस् कि माग्दैनस् ?’ धम्कीदाताको भनाइ उद्धृत गर्दै बुढाथोकीले भने, ‘नत्र एक हप्ताभित्र तलाई सिध्याइदिनेछौँ ।’
सबैभन्दा पहिलोचोटि करिब पौने एक बजे धम्की आएको थियो भने त्यसपछि चार बजेतिर । उनले मंगलबार दिनभरजस्तै पटकपटक आफूलाई धम्कीका फोन आइरहेको बताए । सम्पादक बुढाथोकीले आफूलाई आएको धम्कीको कुरा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा समेत सार्वजनिक गरेका छन् । सबैभन्दा पहिला ‘४९१५२१२०८१४१० नम्बरको टोलिफोनबाट धम्की आएको थियो । यो नम्बर जर्मनीको रहेको टेलिकमले जनाएको छ । यस्तै, चार बजेर ८ मिनेट जाँदा अर्को धम्की ‘६०११२१५४९३२ नम्बरबाट आएको बुढाथोकीले जानकारी दिए । टेलिकमका अनुसार यो मलेसियाको नम्बर हो । सम्पादक बुढाथोकीले यो विषयलाई लिएर आफू प्रहरी–प्रशासनमा नगएको बताए ।
महासचिव शेर्पाले महासंघको नाममा रकम उठाएर दुरुपयोग गरेको समाचार साँघुले प्रकाशित गरेको थियो । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिम्सिनाले सञ्चारकर्मी र सञ्चारमाध्यममाथि अक्रमण गर्न नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै सिकाएको आरोप लगाइन् । ‘देशका कार्यकारी प्रमुख नै सञ्चारकर्मीको हत्यारालाई जोगाउन लागिरहेका बेला अरूले पनि यसको सिको गरेका हुन्,’ उनले भनिन् । उनले सञ्चारकर्मी र सञ्चारमाध्यममा भएका आक्रमण र धम्कीविरुद्ध महासंघ एक भएर अगाडि बढ्ने बताइन् । यद्यपि, बुढाथोकीमाथि आएको धम्कीका सम्बन्धमा महासंघले कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.