फ्राईडे रिलिज अन्तरगत तिन चलचित्र


सेलिब्रेटी नेपाल काठमाडौँ

फ्राईडे रिलिज अन्तरगत यो साता हलमा तिन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । छुट्टाछुट्टै जनराको तिन चलचित्रले दर्शक बाँडिने छन् । तिन चलचित्रले सेन्सर बोर्ड बाट तिन किसिमको सर्टिफिकेट पाएका छन् पीजी सर्टिफिकेटको ‘हुर्रे’, युनिभर्सलको ‘मंगलम’ र एडल्टको ‘गाजा बाजा’ रहेका छन् । गणेशदेव पाण्डे निर्देशित ‘गाजा बाजा’ शिर्षक विवादका वावजुद सेन्सर पास भयो । सेन्सरले यसलाई एडल्ट सर्टिफिकेट थमाईदिएको छ । त्यसअर्थ चलचित्रलाई १६ वर्ष मुनिका दर्शकले मात्र हेर्न पाउनेछन् ।

युवाहरुको एक दिने गाँजा हन्टिङ कथामा बनेको यस सिनेमामा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

नवल नेपाल निर्देशित चलचित्र ‘मंगलम’ शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रशाई, निर शाह, मिथिला शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतका कलाकारको अभिनय छ । पारिवारिक प्रेमकथामा निर्मित सिनेमाले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । त्यसैले यसलाई सबै उमेर समुहका दर्शकले हेर्न पाउनेछन् । छविराज प्रोडक्सन र गुण सिनेमाको व्यानरमा निर्मित ‘मंगलम’का कार्यकारी निर्माता छविराज ओझा हुन् भने चलचित्रमा पहिलो पटक शिल्पा पोखरेलले लगानी गरेकी छन् ।

यम थापाको लेखन निर्देशनमा निर्मित ‘हुर्रे’मा केकी केकी अधिकारी, राजाराम पौडेल, अनुपबिक्रम शाही, अंकित खड्का, विजय बराल र अंकिता नापितको मुख्य भूमिका छ । कमेडी जानराको यस सिनेमालाई सेन्सरले पिजी सर्टिफिकेट प्रदान गरेको छ । त्यसैले यसलाई १८ वर्ष भन्दा मुनिका दर्शकले अभिभावकको निगरानीमा हेर्नु पर्नेछ ।

चलचित्रको कथा निर्देशक स्वयम्ले लेखेका हुन् । सिनेमामा शिव ढकालको छायाँकन कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, विक्रम स्वारको नृत्य र रोशन भट्टराईको द्धन्द्ध छ ।

द याक्का इन्टरटेनमन्टको प्रस्तुतीमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता दावा शेर्पा हुन् । चलचित्रको निर्मातामा सोनम लामा व्लोन र छिरिङ दोर्जे लामा छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.