राष्ट्रपतिबाट धुर्मुस सुन्तलीले निर्माण गरेको एकीकृत नमूना बस्ती हस्तान्तरण


सेलिब्रेटी नेपाल काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ, यो एकदमै अतुलनीय छ” । कलाकारको प्रयासबाट यस्तो नमुना बस्ती बनेकामा आफू गौरवान्वित भएको बताउँदै राष्ट्रपतिले सामुदायिक हितका लागि यस्ता काम सरकारले गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुुस–सुन्तलीको काम ठूलो उदाहरण भएको बताउनुभयो । हास्य कलाकार महजोडीले पनि नमूना बस्तीको खुलेर प्रशंसा गर्नुभयो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले सो बस्ती निर्माण सबै सहयोगी हातबाट भएको बताउनुभयो ।

कलाकार कट्टेल र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । गत असोज ४ गते शिलान्यास भएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकनस्तम्भ निर्माण भएका छन् ।

गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारका घर डुबानमा परेको थियो । करिब रु पाँच करोड ९५ लाखको लागतमा निर्मित सो बस्ती निर्माणमा कलाकार कट्टेल दिनरात आफैँ खट्नुुभएको थियो । सो बस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको कट्टेलले बताउनुभयो । धुर्मुस–सुन्तली फाउण्डेशनको सो चौथो परियोजना हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.