विशुद्ध त्रिकोणात्मक प्रेम कथामा बन्ने भो ‘रानीमहल’


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रानीमहल’को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रमका बीच चलचित्रको निर्माण घोषणा सँगै शुभ साइत पनि गरियो । कार्यक्रममा मुख्य कलाकारहरुले चलचित्रको लागी मुहर्त सट दिए । चलचित्रमा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्देशक हिमाल न्यौपानेले बताए । रानीमहल जस्तो नाम छ त्यसरी नै आफुले कथावस्तुलाई पर्दामा उतारेर दर्शकको भावना अनुसारको चलचित्र बनाउने सोचले निर्देशनमा होमिएको भन्दै न्यौपानेले त्यसको लागी सबैको साथ सहयोग र मायाको आशा व्यक्त गरे ।

निर्माण टिमले नामले चलचित्र दरबारसँग सम्बन्धित जस्तो लागे पनि यथार्थमा चलचित्र दरबार वा यसको सेरोफेरोको कथाबाट टाढा रहेको बताएको छ । ‘रानीमहल’लाई विशुद्ध त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र भनिएको छ । डेढ करोड लगानीमा बन्न लागेको चलचित्र यहि माघको तेस्रो हप्तादेखि फ्लोरमा जाने छ । ४५ दिन सुटिङ सेड्युल रहेको चलचित्रको बुटबल, भैरहवा, चितवन, स्याङग्जा,पोखरा, पाल्पा र काठमाडौंमा सुटिङ गरिने बताइएको छ । चलचित्रमा वर्षा शिवाकोटी, आशिष अधिकारी, नीर शाह, रश्मी भट्ट, बिएस राना, प्रशान्त ताम्राकार, साहिल श्रेष्ठ, मानस्वी खरेल लिड रोलमा हुनेछन् ।


स्वस्तिक फिल्मस् को ब्यानरमा बन्ने चलचित्रमा निर्माताको रुपमा बिमल भुसाल छन् भने छायाँकन निरज कंडेलले गर्नेछन् । अर्जुन पोखरेल र हर्कुलश बस्नेतको संगीत रहने चलचित्रमा द्वन्द्व हिमाल केसीको रहनेछ । रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । चलचित्रमा उमा बेबी, विष्णु सापकोटा,नगेन्द्र रिजाल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामिछाने, भिस्म राज जोशी, सौगात धिताल, बिनोद कुमार सापकोटा, सुरज चौलागाईं, पुष्पा निरौला, भोला शाह,गणेश पौडेल समेतको अभिनय रहनेछ ।