किन बन्दैनन् घोषणा भएका सबै चलचित्र ?


सेलिब्रेटी नेपाल काठमाडौँ
तिनवर्षअघि काठमाडौंको एक पाँचतारे होटलमा भव्य कार्यक्रमको आयोजना गरी चलचित्र ‘न्यु इयर’ को निर्माण घोषणा भयो । निर्देशक प्रविण श्रेष्ठले बनाउने चलचित्रमा ग्रिहेन्द्र घिमीरे, प्रताप खरेल, कर्ण राजवंशीले लगानी गर्ने भनिएको चलचित्रको पोस्टरमा अनुपविक्रम शाही र बेनिशा हमाललाई फ्चिरिङ गर्ने भनिएको थियो । यो चलचित्रको लागि एउटा पार्टिसङ फ्लेवरको गीत ड्रिम्स रेर्कडिङ स्टुडियोमा तयार पनि भयो । चलचित्रको विषयमा समाचार व्यापक आयो, मिडियामा । तर, यो चलचित्र अझैसम्म पनि बनेको छैन । यो चलचित्र किन बनेन भन्ने विषयलाई नै आधार मान्ने हो भने अर्को कुनै समाचार नै बन्न सक्छ, तर छोटो अर्थमा भनौं, ‘निर्माता ग्रिहेन्द्र घिमीरे र नायिका बेनिशा हमालको सम्बन्ध चलचित्र बनाउने घोषणा गरेपछि एकाएक चिसियो, केही समयमै फ्लोरमा जाने भनिएको चलचित्र अहिलेसम्म बन्न सकेको छैन ।

चर्चित निर्देशक दिपेन्द्र के खनाललाई लिएर शर्मिला पाण्डेले झन्डै ६ महिनाअघि अमेरिका जान चाहनेले भोग्नुपर्ने पीडामा आधारित रहेर चलचित्र निर्माण गर्ने घोषणा गरे । खगेन्द्र लामिछानेलाई मुख्य पात्रसमेत छानिएको सो चलचित्रको घोषणा जति तामझामका साथ गरिएको थियो, सञ्चार माध्यममा पनि त्यति नै चर्चा बटुल्यो ।

करिब पाँच करोड रुपैयाँको लागतमा बन्ने भनिएको नेपाली चलचित्र इतिहासकै सर्वाधिक महंगो मानिएको थियो । सो चलचित्रको निर्माणमा सुरज सिने आर्टस् र दीपेन्द्र के प्रोडक्सनको सहकार्य रहने र गत १५ मंसिरदेखि छायांकन सुरु हुने गफ दिइएको थियो । तर, घोषणा भएको महिनौं बितिसक्दासमेत सो चलचित्रको छायांङकन सुरु हुन सकेको छैन ।

कहाँ अड्क्यो त हलो ? निर्देशक खनाल सतही जवाफ दिन्छन्, ‘बनाउने हो, हेरौं कहिलेबाट सुरु हुन्छ ।’ उनका अनुसार अहिले पनि यो चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ । चलचित्र फ्लोरमा जान अझै एक वर्ष लाग्ने उनको अनुमान छ ।

निर्देशक गणेश देव पाण्डेले एक वर्षअघि नै चलचित्र ‘चिनी कम रङ कडा’ शिर्षकको चलचित्र बनाउने घोषणा गरे । तर घोषणा गरेको केही महिनापछि त्यो चलचित्रलाई पाखा लगाएर उनी अर्को चलचित्र ‘गाजाबाजा’ निर्माणमा कस्सिए । यो चलचित्र तयार त भयो, तर नामको विषयलाई लिएर गरिएको किचलो अदालतसम्म पुग्यो । निर्देशक पाण्डेका अनुसार सो चलचित्र रिलिजको तयारीमा छ, एक वर्षअघि घोषणा गरेको चलचित्र ‘चिनी कम रङ कडा’ कहिले बन्ने हो त्यो भने पत्तो छैन । गर्णेश देव अहिले पनि भन्न छाड्दैनन्, ‘चिनी कम रङ कडा’ पनि चाँडै बनाउने हो ।’

आधा दर्जनको हाराहारीमा चलचित्र निर्देशन गरेका निर्देशक सुरेस दर्पण पोखरेलले ‘कल गर्ल’ र ‘एडल्ट’ निर्माणको घोषणा गरेको आज लगभग ६ वर्ष भयो । तर यी दुवै चलचित्र अहिलेसम्म बनेनन् । के कति कारणले चलचित्र बन्न सकेन त्यो निर्देशक पोखरेललाई नै थाहा होला । हाल, अमेरिकामा रहेका पोखरेल कहिलेकाहीँ नेपाल आउने जाने गर्छन् ।

यी त उदाहरण मात्रै हुन् । चलचित्र बनाउने भन्दै घोषणा गर्ने तर नबनाउने क्रम नेपाली चलचित्र उद्योगमा मौलाउँदै गएको छ । चलचित्र विकास बोर्डबाट पछिल्ला दुई आर्थिक वर्षमा इजाजत लिएका चलचित्रको सूची हेर्दा त्यसमध्ये ७५ प्रतिशत पनि चलचित्र बनेका छैनन् ।

‘मुर्गा’ नफसे बन्दैन चलचित्र

निर्माता प्रदीप उदय नेपाली चलचित्रमा ‘मुर्गा फसाउने’ प्रवृत्तिको अन्त्य नभएसम्म यो क्रम जारी नै रहने बताउँछन् । सुरुमा विकास बोर्डमा इजाजत लिएर चलचित्र घोषणा गरिहाल्ने तर ‘मुर्गा फसे’ बनिहाल्ने पनि नत्र स्क्रिप्ट डस्टबिनमा फ्याँकिने गरिएको छ । निर्माता उदय भन्छन्, ‘दर्ता गरेपछि मात्रै लगानी गर्ने निर्माताको खोजीमा घर–घर चहार्छन्, सोच अनुरुप रकम उपलब्ध भए बन्छ, नत्र बन्दैन ।’

चलचित्र बितरण कम्पनी एफडीका एक सदस्यसमेत रहेका उदय भन्छन्, ‘चलचित्र कसले बनाउने हो, पहिले त्यो मान्छे नै इमान्दार भएर प्रस्तुत हुनुपर्छ ।’ नेपाली चलचित्र उद्योगमा यस क्षेत्रबारे अन्जान नयाँ निर्मातालाई ‘मुर्गा’ शब्द प्रयोग गर्ने चलन छ । उदयका अनुसार मुर्गाको खोजीमा नै कतिपय चलचित्र नाममै सिमित हुन्छन् ।

‘एक करोड, दुई करोड, तीन करोडभन्दा बढी कमाइयो भन्दै ठूला गफ दिने पनि मुर्गाकै खोजीमा रहने निर्देशकहरू हुन्छन् । समाचारमा समेत यस्ता बकवास कुरो छापिएपछि माहिरहरूले मुर्गा त फसाइ हाल्छन् नि !’, एक निर्देशक भन्छन्, ‘टन्न कमाइन्छ भनेको सुन्दा, ५० लाख लगानी गरेर कसले एक करोड कमाउन चाहँदैन र ?’

यसबारे निर्देशक आकाश अधिकारी भन्छन्, ‘चलचित्र बनाउनु सामान्य विषय होइन, तर यहाँ सामान्य बनाइएको छ, यो दुःखको कुरा हो । लगानी, टेक्निसियन, निर्देशकदेखि आवश्यक कलाकारसम्मको व्यवस्थापन गर्नुपर्छ ।’ चलचित्रको नाम घोषणा हुने तर चलचित्र नबन्ने प्रवृत्तिबारे उनको अप्रत्यक्ष जवाफ छ, ‘चलचित्र बनाउन पैसा थोरैले पुग्दैन ।’

निर्माता छविराज ओझाको भनाइ प्रदीप उदयको भन्दा फरक छैन । ‘नेपालमा मुर्गा फसाएर चलचित्र बनाउन खोज्नेहरूको बिगबिगी छ’, उनले भने, ‘छक्कापन्जा व्यापक चल्यो, ड्रिम्स निकै चल्यो अथवा अर्को कुनै चलचित्र व्यापक चल्यो भन्दै गफ लगाउने र १५ लाखसम्ममा चलचित्र बन्छ भन्दै मुर्गा फसाउने गरिन्छ । पछि चलचित्र फ्लोरमा गएपछि १ करोडसम्म खर्च गरिदिने चलन छ, यो नेपाली चलचित्र क्षेत्रको लागि खतरानाक हुनेछ ।’ नेपाली चलचित्रको बारेमा सतही कुरा नबुझेकालाई फसाउने, नायिका र मोडललाई घुमाउँछु भन्ने सोचले आउनेहरूको कारण नेपाली चलचित्र बिग्रिएको हो’, छविराज ओझाले स्पष्ट पार्दै भने, ‘नयाँ कोही व्यक्तिले गलत नियतले चलचित्र क्षेत्रमा आउदै हुनुहुन्छ भने त्यसको वेफाइदा स्वयं त्यो व्यक्तिलाई नराम्रै हुनेछ ।’
जनता पोस्टबाट जस्ताको तेस्तै