‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी र धिरजको जोडी कस्तो देखियो


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ड्रिम्स र ए मेरो हजुर २ बाट चर्चाको शिखरमा पुग्न सफल नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायाँकन सकिएको छ । कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक निर्देशन गरेको चलचित्र नेपालको सबै र युके छायाँकनको पहिलो तालिका पुरा हुँदा निर्माण टिमले सिनेमाको फस्टलुक स्वरूप मुख्य कलाकार सहितको तस्विरहरु सार्वजनिक गरेको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर र सरुक ताम्राकारको मुख्य भूमिका रहेको छ । चलचित्रको बाँकि २५ प्रतिशत छायांकन बसन्त ऋतुको अवसर पारेर चैत/बैशाखमा लन्डनमै छायाँकन गरिनेछ । चलचित्रमा मा युकेका थुप्रै रमणीय दृश्यहरु कैद गरिएको निर्माण टिमले जानकारी गराएको छ ।

प्रज्ज्वल समशेर जबरा र निर्देशक रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीलाई आई कोर फिल्मस्को व्यानरमा प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । चलचित्रका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । आभास कर्माचार्यको संवाद रहेको चलचित्र लाई शैलेन्द्र कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।