त्रिमूर्ति पुरस्कार घनश्याम शर्मालाई


सेलीब्रेटी नेपाल माघ १४ गते-त्रिमूर्ति निकेतनले ‘त्रिमूर्ति पुरस्कार’ घनश्याम शर्मालाई प्रदान गरेको छ । नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि कथा सिर्जनाका माध्यमबाट विशिष्ट योगदान गर्नुहुने शर्मालाई ‘त्रिमूर्ति पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशी पच्चीस हजार रुपैयाँ रहेको छ ।

शर्माकै निबासमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्ष प्रा.डा.गार्गी शर्मा, उपाध्यक्ष प्रा.डा.उषा ठाकुर, त्रिनारीरत्न स्मारकका संयोजक डा.मोदनाथ प्रश्रति र सदस्यसचिव नरेन्द्रराज प्रसाईले शर्माको साहित्यिक योगदानको चर्चा गर्दै हालको स्थितिप्रति दुक्ख व्यक्त गर्नुभयो । कार्यक्रममा त्रिमूर्ति निकेतनका कोषाध्यक्ष उषा शेरचनले व्यक्तिगत रूपमा शर्मालाई पाँच हजार रूपियाँ प्रदान गर्नुभयो ।

शर्माको जन्म २०२१ सालमा अछाममा भएको थियो । उहाँका ‘धुलोमा उडेका सपनाहरू’ (२०६०), ‘अभिशप्त समय’ -२०६४) र ‘छिरिङ डोल्मा र अनाम सहिदहरू’ (२०६८) नामक कथाका कृतिहरू प्रकाशित छन् । साथै उहाँका विभिन्न पत्रपत्रिकामा झन्नै १ सय वटा फुटकर रचना प्रकाशित भैसकेका छन् ।
भौतिक योजना तथा निर्माण मन्त्रालयका इन्जिनियर घनश्याम शर्मा २०६८ साल बैशाख २६ गतेदेखि अचेतन अवस्थामा हुनुहुन्छ ।