निर्मातामाथि यौन दुर्व्यवहारको आरोप


सेलिब्रेटी नेपाल बीबीसीको सहयोगमा
न्युयोर्कका अभियोजनकर्ताहरुले यौन दुर्व्यवहार भएको हुनसक्ने भन्दै हलिउड चलचित्र निर्माता हार्भी वाइन्स्टिनले स्थापना गरेको ‘द वाइन्स्टिन कम्पनी’माथि अनुसन्धान शुरु गरेका छन। चलचित्र जगतका बादशाह भनिने वाइन्स्टिनले एक दशकभन्दा पहिले उक्त स्टुडियो स्थापना गरेका थिए। कैयौँ महिलाले यौन आक्रमण र दुर्व्यवहारको आरोप लगाएपछि यसै महिनाको शुरुतिर सो कम्पनीको बोर्डबाट उनलाई हटाइएको थियो। वाइन्स्टिनले आफूविरुद्धका आरोपहरु अस्वीकार गर्दै आएका छन्। न्युयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानले कुनैपनि कार्यथलोमा यौन आक्रमण, दुर्व्यवहार वा त्रासका लागि स्थान नभएको बताएका छन्।

यौन दुर्व्यवहारको आरोप लगाइएका कागजात र त्यस्ता आरोपलाई सम्बोधन गर्न चालिएका कदमसम्बन्धी कागजातहरु अनुसन्धानका क्रममा नियन्त्रणमा लिइने अधिकारीहरुले बताएका छन्। महान्यायाधिवक्ताको कार्यालयका अनुसार यौन दुर्व्यवहारको शिकार भएका उक्त कम्पनीका कर्मचारीहरुको पहिचान गर्ने प्रयास गरिनेछ। महान्यायाधिवक्ताको कार्यालयले भनेको छ, यदि यौन दुर्व्यवहार वा लैङ्गिक विभेद व्याप्त रहेको छ भने हामी त्यसबारे थाहा पाउन चाहन्छौँ। अभिनेत्री एन्जेलिना जोली, ग्विनीथ पेल्ट्रो र रोज म्याकगोवानसहित कैयौँले वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्। हालै ओस्कर आयोजना गर्ने संस्था द युएस एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइन्स्टिनलाई ओस्कर बोर्डबाट निष्कासित गरेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.