पोखराका बुद्ध लामा बने पहिलो नेपाल आइडल


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्। यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे।

एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए। निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।
फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे। विजेता एवं अन्य सहभागीलाई हौसला प्रदान गर्न महजोडी कतार पुगेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.